१३ असार २०८१, बिहिबार

उदयपुरमा आज १ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या पुग्यो ३२


डा. विकास देवकोटा

९ वैशाख, काठमाडौं । उदयपुरमा आज अर्को १ जना ३३ वर्षका पुरुषमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियमित रुपमा हुने पत्रकार ब्रिफिंगमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गरेका हुन् । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा पोजिटिभ देखिएको हो ।

सोमबार उदयपुरको भुल्के क्षेत्रबाट २५१ जनाको थ्रोट स्वाब लिएर नेपाली सेनाको चिकित्सक टोली काठमाडौं आएको थियो । त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको पनि प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन् ।

यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या १४ जना पुगेको छ भने देशभर संक्रमितको संख्या ३२ पुगेको छ।

उदयपुरको भुल्केस्थित मस्जिद वरपरबाट लिइएको ६९ जनाको नमुनाको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा  थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको थियो । विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको थियो ।

यसअघि उदयपुरको भुल्केमा ११ भारतीय र २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि बस्तीका बासिन्दाको पनि स्वाब संकलन र परीक्षण गरिएको हो । उदयपुरबाट संकलन गरिएका केही व्यक्तिका कोरोना संक्रमणको आशंका गरिएपछि धरान र विराटनगरमा पीसीआर परीक्षण गरिँदैछ।

यो पनि पढ्नुहोस्

फेरि उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका

नेपालमा संक्रमितको संख्या ३१ पुग्यो, आज थप १ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !