७ बैशाख २०८१, शुक्रबार

सरकारद्वारा ओम्नीसँगको विवादास्पद स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द


महेन्द्र श्रेष्ठ

१९ चैत, काठमाडौं । अन्तत: नेपाल सरकारले विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गरेको छ । बुधबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहले तोकिएको समयमा आवश्यक सामाग्री दिन नसकेको र दिएका सामाग्रीहरु पनि कमसल रहेको भन्दै सम्झौता रद्द गरिएको बताएका छन् ।

उनले बिहीबार नै अन्य कम्पनीहरुलाई बोलाइएको र सामान किन्नका लागि पुन: प्रक्रिया अगाडि बढाइने बताएका छन् । महानिर्देशक श्रेष्ठले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरेका छन् ।

साथै धरौटी वापत राखिएको ५ करोड रुपैयाँ जफत गरी कालोसूचीमा राखिएको महानिर्देशक श्रेष्ठले बताएका छन् । ओम्नीले बोलकबोल गरेको मध्ये १८ प्रतिशत सामान मात्रै नेपाल ल्याउन सकेको र थप सामान ल्याउन नसकेको तथा ल्याउने प्रतिवद्धता पनि जाहेर नगरेको भन्दै सम्झौता रद्द गरेको उनको भनाइ छ ।

विभागले सम्झौता गर्दा बजार मूल्य भन्दा अति महङ्गोमा सामान ल्याएर भ्रष्टाचार गरेको भन्दै चौतर्फी विरोधसमेत भएको थियो । विभागले अब नयाँ खरिद प्रक्रिया सुरु गर्नेछ । ३ दिन मात्र समय दिएर भोलि प्रस्ताव आह्वान गर्ने निर्णय भएको विभागका महानिर्देशक श्रेष्ठले बताएका छन् । उनले सस्तोमा सामान ल्याउन निवेदन दिन पनि सप्लायर्सहरुलाई आह्वान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !