१३ बैशाख २०८१, बिहिबार

लकडाउनपछि रिक्सा चालक भोकभोकै


रिक्सा चालक

चैत १३, वीरगन्ज । लकडाउनले आम्दानीको बाटो बन्द भएपछि वीरगन्जमा रिक्सा चालक भोकभोकै रात कटाएका खबर आएका छन् । पसलेले उधारोमा खाद्यान्न नदिएपछि केहि रिक्सा ग्यारेजमा भोकै सुतेका छन् । कोरोना संक्रमणबाट जोगिन देशभर मङगलवारदेखि लकडाउन भएपछि वीरगन्जमा १५० रिक्सा चालक भोकभोकै बसेका छन् ।

कोरोनाको त्रास बढ्दै गएपछि लकडाउन हुनुभन्दा पहिले केही रिक्सा चालक घर फर्किसकेका छन् । तर लक डाउन भएपछि घर फर्कन नपाएका झण्डै १५० रिक्सा चालक भने ग्यारेजमै अलपत्र अवस्थामा छन् । यो समाचार क्रान्ति शाहले अन्नपूर्ण पोष्ट डटकममा लेखेका छन।

नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि वर्तमान समयमा देखाएको गम्भीर चासो र लिएका कदमहरू स्वागतयोग्य नै छन् । तर नेपाल सरकारले लकडाउन घोषणा गरेपछि दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका श्रमिकहरू र न्यून आय भएका नेपालीहरु अप्ठेरोमा परेका छन् । लकडाउनले आम्दानीको बाटो बन्द भएपछि वीरगन्जमा १५० रिक्सा चालक भोकभोकै रात कटाएका खबर आएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लकडाउनलाई जनताले पूर्ण रुपमा पालना नगरे ठूलो जोखिम हुने भन्दै १ साताको लकडाउनले नपुग्ने भएकाले २१ दिनसम्मको लकडाउन लम्बिन सक्ने बताएका छन् । साथै आज मात्र परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले लकडाउन २ हप्ता थपेर ३ हप्ता वा २१ दिन हुनसक्ने पनि बताएका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण दर वृद्धि भई रहेको छ । नेपाल सरकारका मन्त्रीहरुले पनि लकडाउन लम्बिन सक्ने बताएका छन् । यदि कोरोनाबाट सुरक्षित हुँदाहुँदै लकडाउन लम्बियो भने दैनिक ज्यालादारी गर्ने र न्यून आय भएका नेपालीहरुको रोजीरोटी बन्द हुने स्थिति आएर भोकमरीको सिकार हुने प्रवल सम्भावना दिनप्रतिदिन बढिरहेको देखिन्छ ।

नेपाल सरकार दूरदर्शी भएर यस्ता समूहलाई भोकमारीको सिकार हुन नदिन सरकारले तत्काल विशेष राहत प्याकेज घोषणा गर्न जरुरी देखिन्छ । तसर्थ, नेपाल सरकारले तुरून्तै विशेष प्याकेज घोषणा गरी निःशुल्क रासन, नि:शुल्क उपचार आदिको सेवा-सुबिधा दिई कार्यान्वयन गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई गम्भीर ध्यानाकर्षण हुन् जरुरी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !