१३ बैशाख २०८१, बिहिबार

काठमाडौँ उपत्यकासहित देशभर बढ्यो कोरोना संक्रमण


कोरोना संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमण हवात्तै बढेको छ । देशभर पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो देशभर ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

१२ हजार ९९ जनाको नमूना परीक्षण गरिएको थियो । ७ हजार २०९ जनाले पीसीआर र ४ हजार ८९० जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३१० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हिजो काठमाडौँ उपत्यकामा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गत २४ घण्टामा २७१ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार ४४७ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ३० हजार ४८० र एन्टिजेन विधिबाट परीक्षण गरिँदा ९६ हजार ४४५ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख एक हजार ७४२ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ४४ हजार ३९४ पुगेको छ । कूलमा सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत छ । कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख २० हजार ६५३ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३१ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८१ दशमलव नौ रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १४ र आइसियूमा ७९ जना रहेका छन् । होम आइसोलेशनमा पाँच हजार ६९, संस्थागत आइसोलेशनमा ३६२ र क्वारेन्टिनमा ११३ रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् ।

शून्य सङ्क्रमित रहेका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ३०२, ललितपुर ६२१ र भक्तपुरमा ५५३ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !