१४ बैशाख २०८१, शुक्रबार

बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुग्यो


नेपाल कोरोना मृत्यु

बागलुङ । बडिगाड गाउँपालिका–६ की कोरोना भाइरस सङ्क्रमित २६ वर्षीया महिलाको गएराति उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको छ । एन्टिजिन परीक्षणबाट कोरोना पुष्टि भएपछि उनलाई शुक्रबार मात्रै अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल आउँदा नै महिलाको अवस्था गम्भीर बनेको र चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकेको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । योसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको उनको भनाइ छ ।

कोरोना महामारीको पहिलो लहरमा जम्मा ११ जनाको मृत्यु भएकामा गत वैशाखयता शुरु भएको दोस्रो लहरमा ३९ जनाले ज्यान गुमाउनुपरेको छ । जिल्लामा पहिलोपटक विसं २०७६ चैत १५ मा कोरोना सङ्क्रमणको घटना पुष्टि भएको थियो ।

त्यसयता चार हजारबढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ५० रहेको स्रोत व्यक्ति घिमिरेले जानकारी दिए । पछिल्लो समय सङ्क्रमणको दरमा केही कमी आएको छ । अस्पतालमा पनि कोरोना सङ्क्रमितको संख्या घट्दै गएको छ ।

सङ्क्रमण घटेपनि जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही नगर्न चिकित्सकले सुझाउँदै आएका छन् । कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गत वैशाख २१ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु