१२ पुस २०८१, शुक्रबार

भक्तपुरमा शून्यमा झर्दै मृत्युदर, घट्यो अस्पतालमा चाप


नेपाल कोरोना

भक्तपुर । कोरोना सङ्क्रमणको मृत्युदर घट्दै गएपछि जिल्लाका अस्पतालका श्यया खाली हुन थालेका छन् । अस्पतालमा अक्सिजन अभाव घटेर उपचारमा सहज हुन थालेको छ । सङ्क्रमितको निको हुने दर पनि ह्वात्तै बढेको छ । पिसिआर परीक्षणका लागि आउनेको संख्या पनि घटेको छ ।

कोभिड–१९ को दोश्रो लहरको महामारीले उग्र रुप लिँदा भक्तपुर अस्पतालमा एकैदिन कोभिडका ८३ जनासम्म बिरामी राखेर उपचार गरिएको थियो भने आज यस अस्पतालमा २२ जना कोभिडका विरामीको उपचार भइरहेको छ ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ड डा. सुमित्रा गौतमले छ शय्या आइसियु, छ शय्या भेन्टिलेटर र ४६ शय्याको एचडियु तथा कोभिड आकस्मिक कक्षसहित एकै दिन ८३ जना कोभिडका बिरामी राखेर उपचार गरेको कहालीलाग्दो अवस्था पार गर्दै आएको बताए ।

भक्तपुर अस्पतालमा कोभिडका कारण १३ महिला र १० पुरुष गरी २३ जनाको मृत्यु भएको छ । दैनिक ३०० जनासम्मको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने गरेकोमा अहिले घटेर दैनिक ७० जनाको हाराहारीमा स्वाब संकलनका लागि आउने गरेको उनले बताए । उनले कोभिडका बिरामी घटे पनि अस्पतालले विगतमा सञ्चालन गर्दै आएको ओपिडी र शल्यक्रिया लगायतका अन्य सेवा अब नियमित हुन थालेको जानकारी दिए ।

कोभिडका बिरामीको उपचार गर्दै आएको मध्यपुरथिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालि अस्पतालमा पनि कोरोना सङ्क्रमित घटेपछि श्यया खाली हुन थालेका छन् । एकै पटक ५२ जनासम्म कोभिडका बिरामीको उपचार गरेको यो अस्पतालमा आज आठ जनाको मात्रै उपचार भइरहेको छ ।

अस्पतालका प्रशासन अधिकृत रुपेश श्रेष्ठले बिरामीको चाप घटेपछि आज तीन जना भेन्टिलेटरमा र पाँच जना एचडियुमा उपचाररत रहेको बताए । दैनिक पिसिआर परीक्षणका लागि ४०० सम्म आउन थालेपछि अस्पतालले टोकन बाँढेर दैनिक २०० जनासम्मको परीक्षण गरेकामा अहिले दैनिक ९० जनासम्म परीक्षणका लागि आउने गरेको उहाँले जानकारी दिए ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार अहिले जिल्लामा २९ पुरुष र २८ महिला गरी ५७ जनामात्र अस्पताल र आइशोलेसन केन्द्रमा उपचाररत रहेका छन् । कूल सङ्क्रमित मध्ये ३२५ पुरुष र ३५९ महिला गरी ६८४ जना होम आइशोलेसनमा रहेका छन् ।

प्रमुख मिजारले भक्तपुरमा ९५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किएको जनाए । कूल २१ हजार २३४ जना सङ्क्रमित मध्ये ९५ दशमलव २० प्रतिशत अर्थात् २० हजार २१६ जना सङ्क्रमित निको भएर घर फर्किएका हुन् ।

सङ्क्रमित संख्या घटेसँगै भक्तपुरमा कोरोनाबाट मृत्युदर समेत घटेको छ । जिल्लामा जेठ २५ गते यता एक जनाको मात्र कोरोना सङ्क्रमितका कारण मृत्यु भएको उहाँले जानकारी दिए ।

एकैदिन १४ जनासम्मको कोरोनाबाट मृत्यु भएको भक्तपुरमा गत जेठ २४ गते यता मृत्युदर घटेर शून्यमा झरेको छ । गत जेठ २८ सङ्क्रमित एक पुरुषको मृत्युपछि त्यसयता सङ्क्रमितको मृत्यु भएको छैन ।

जिल्लामा सबैभन्दा बढी मध्यपुरथिमी नगरपालिकामा ६३ पुरुष र २८ महिला गरी ९१ जना, भक्तपुर नगरपालिकामा ४४ पुरुष र ३० महिला गरी ७४ जना, सूर्यविनायक नगरपालिकामा ४७ पुरुष र २८ महिला गरी ७५ जना र चाँगुनारायण नगरपालिकामा २६ पुरुष र ११ महिला गरी ३७ जना सङ्क्रमितको मृत्यु भएको मिजारले जानकारी दिए । सङ्क्रमितमध्ये होम आइशोलेसनमा ३२५ पुरुष र ३५९ महिला गरी ६८४ जना सङ्क्रमित रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !