धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा उपचाररत उनको आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए ।
चार दशकदेखि राजनीति गर्दै आएका कैलालीका स्थायी बासिन्दा मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्य समेत भएका थिए । पहिले राप्रपाको राजनीति गरेका उनी २०७० सालकाे दोस्रो संविधानसभा निर्वाचन अगाडि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा मल्ललाई २०७४ सालमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त भएका मल्लले ८ गते शपथ लिएका थिए ।
नियुक्त भएको करिब दुई वर्षपछि २०७६ सालको कार्तिकमा पदमुक्त गरिएको थियो । निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको आज बिहीबार अन्त्येष्टि गरिने बताइएको छ । मल्लका १ छाेरा र १ छाेरी छन् ।