७ पुस २०८१, आइतबार

कोरोना संक्रमणवाट वरिष्ठ साहित्यकार प्रा. राजेन्द्र सुवेदीको निधन


प्रा. डा. राजेन्द्र सुवेदी

काठमाडौँ । वरिष्ठ साहित्यकार प्रा. राजेन्द्र सुवेदीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । सुवेदीका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।

विसं. २००२ साउन १९ गते पाँचथरको अमरपुरमा जन्मिएका सुवेदीले त्रिभुवन विश्वविद्यालयमा करिब ३७ वर्ष नेपाली विषय प्राध्यापन गरेका थिए । उनी समालोचक, निबन्धकार, उपन्यासकारका रूपमा परिचित छन् ।

सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक भएका थिए ।

सुवेदीका ‘विषय गहन : सतह चिन्तन’, ‘स्रष्टा सृष्टि : द्रष्टा दृष्टि’ समालोचना कृति, ‘सुद्युम्न’ र ‘स्वप्न संसार’ पौराणिक उपन्यास, ‘खाली सिसी पुराना कागज’ निबन्ध संग्रह, ‘धितो कोख’ उपन्यास लगायत कृति प्रकाशित छन् ।

त्यसै गरी सुवेदीले दर्जनभन्दा बढी कृति सम्पादन तथा अनुवाद, बनारसबाट प्रकाशित ‘मञ्जरी’ र समर्पण’ तथा ‘वाङ्मय’ पत्रिकाको सम्पादन गरेको प्राज्ञ नेपालले जनाए । सुवेदीका विरुपाक्ष, विरोचक, रासु उपनामबाट समेत लेख, रचनाहरू प्रकाशित छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ ले सुवेदीको निधनले साहित्यका क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपुरणीय क्षति भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !