१३ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमित संख्या दैनिक उकालो लाग्दो


कोरोना संक्रमित

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि संक्रमित हुनेको संख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन संक्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।

हिजो देशभर ७६६० मा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । सोमबार (वैशाख २० गते) ७४४८, आइतबार (वैशाख १९ गते) ७२११, शनिबार (वैशाख १८ गते) ५७६३ र शुक्रबार (वैशाख १७ गते) ५७२७ संक्रमित देखिएका थिए ।

हिजो १६ हजार १३१ पिसिआरमा सात हजार ५८७ र ५६१ एन्टिजेनमा ७३ मा सङ्क्रमण देखिएको हो । हिजो देखिएका संक्रमितसँगै कूल सङ्क्रमित ३ लाख ५१ हजार ५ पुगेको छ । यस्तै हिजो १७७५ संक्रमितबाट निको भएका छन् । अहिलेसम्म २ लाख ८७ हजार ७९० निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८२ प्रतिशत छ ।

५५ जनाको निधन

यस्तै आज मात्र सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५५ पुगेको छ । निधन हुनको यो सङ्ख्या हालसम्मकै उच्च हो । अहिलेसम्म तीन हजार ४१७ सङ्क्रमणबाट निधन भइसकेका छन् ।

२० जिल्लामा ५०० बढी संक्रमित

यसैगरी ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० पुगेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, कास्की, दाङ्, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन् ।

आइसियुमा ६१६ र भेन्टिलेटरमा १७९

यस्तै सङ्क्रमितमध्ये ६१६ सघन उपचार कक्ष (आइसियु) र १७९ भेन्टिलेटरमा उपचार गराइरहेका छन् । आइसियुमा प्रदेश नंं १ मा ९३, प्रदेश नंं २ मा २४, वाग्मती प्रदेशमा ३२५, गण्डकी प्रदेशमा ४४, लुम्बिनी प्रदेशमा ६९, कर्णाली प्रदेशमा ३२ र सूदुरपश्चिम प्रदेशमा २९ उपचार गराइरहेका छन् ।

भेन्टिलेटरमा प्रदेश नंं १ मा १८, प्रदेश नंं २ मा दुई, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा १६ , कर्णाली प्रदेशमा सात र सूदुरपश्चिम प्रदेशमा १० उपचार गराइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !