४ असार २०८१, सोमबार

भारतको कुम्भ मेलामा गएर आएका ७५ प्रतिशत नेपालीमा कोरोना संक्रमण


भारतको कुम्भ मेलामा गएर आएका ७५ प्रतिशत नेपालीमा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएकामध्ये ७५ प्रतिशत भारतको हरिद्धारमा भएको कुम्भ मेलामा गएर आएका नेपालीहरु रहेको पाइएको छ । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र हरिद्वारमा भएको महाकुम्भ मेलामा सहभागी भएका धेरै भारतीय र नेपाली मानिसहरु संक्रमित भएका छन् ।

मन्त्रालय स्रोतका अनुसार उक्त मेलामा १०० भन्दा बढी विशिष्ट व्यक्तित्वहरु पनि सहभागी भएर आएका थिए । मन्त्रालयले परीक्षण र कन्ट्याक्ट ट्रेसिङका क्रममा कुम्भ मेलाबाट फर्किएकामा धेरै संक्रमण फेला पारेको हो ।

भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचाररत छन् । केहि समयअघि सोही कुम्भ मेलामा सहभागी भएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

भारतमा पनि कुम्भ मेलापछि संक्रमण अन्यत्र फैलिएको बताइएको छ । भारतको बिहार, उत्तर प्रदेशमा कुम्भ मेलापछि संक्रमण बढेको पाइएको छ । त्यसको असरमा नेपालका सिमा जोडिएका छिमेकी जिल्लाहरुमा पनि देखिएको बताइएको छ।

मेलामा सहभागी भएका मानिसहरुले अनय राज्यहरुमा कोरोना लगेको बताइएको छ। नेपालमा पछिल्लो समयमा संक्रमितको संख्या बढेसँगै सिकिस्त बिरामी हुने र मृत्यु हुने संक्रमितको संख्या बढेको छ ।

हिजो बिहिबार मात्र १२५९७ जनामा पिसिआर परिक्षण गर्दा ४८३१ जना र ९६३ जनामा एन्टीजेन परिक्षण गर्दा ९७ जनामा गरी जम्मा ४९२८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० जना पुगेको छ । देशभर ३४११७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा हिजो कोरोना संक्रमणवाट ३५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३२४६ जनाको मृत्यु भईसकेको छ । नेपालमा संक्रमितको मृत्युदर १ दशमलव ०२ प्रतिशत पुगेको छ ।

नेपालमा कोरोना संक्रमणका कारण एकै दिनमा मृत्यु हुनेको संख्यामा रेकर्ड कायम भएको छ । नेपालमा कोरोना संक्रमण फैलन सुरु गरेपछि एक दिनमा पहिलोपटक ३५ जनाको मृत्यु भएको हो । यसअघि नेपाल २०७७ कात्तिक १५ गते सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए ।

नेत्रवित्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी रूपमा काम गर्न सरकारसँग आग्रह गरेको छ । पार्टी महासचिव विप्लवले हिजो एक प्रस विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रणका लागि निषेधाज्ञा गरिएको भएपनि यो पर्याप्न नभएकाले थप कदम चाल्न अनुरोध गरेका थिए ।

विप्लवले कोरोना रोकथामका लागि भारतसहित विदेशबाट नेपाल प्रवेश गर्नेलाई कडाइ गर्नुपर्नेमा जोड दिएका छन् । भारतलगायत विदेशबाट नेपाल प्रवेश गर्ने आप्रवासीहरू नियन्त्रण गर्ने, आएकाहरूलाई एकान्तवासमा राख्ने व्यवस्था गर्ने र बिरामी परेका सबैको उपचार गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

तर यस्तो कोरोना संक्रमणले भयावह बनेको भारतबाट नेपाल फर्किएका नेपालीलाई सीमामा नरोकिने भएको छ । सरकारले निषेधाज्ञाको समयमा पनि भारतबाट फर्किने नेपालीलाई सीमामा नरोक्ने भएको हो ।

निषेधाज्ञा नभएका र सार्वजनिक सवारीसाधन सञ्चालनमा रहेका नाकाबाट आफैँ जाने भएपनि निषेधाज्ञा भएका जिल्लाले विशेष व्यवस्था गरिएको छ । सरकारले मुख्य नाका छलेर आउनेलाई भने रोक्ने गरेको छ । तर सरकारले नै तोकेका २० वटा नाकाबाट आउन रोकतोक नहुने स्थानीय प्रशासनले जनाएका छन् ।

सरकारले भारतबाट आउनेका लागि पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका तोकेको छ ।

भारतबाट आउनेलाई नाका रहेकै जिल्लामा व्यवस्थापन गर्न नसकिने भएकाले घरतिरै पठाउने गरिएको स्थानीय प्रशासनले जनाएको छ । गत वर्ष लकडाउन गर्दा सरकारले सीमानाका समेत बन्द गर्दा हजारौँ नेपाली सिमानामा अलपत्र परेका थिए। सिमानामा अव्यवस्थित बस्दा कोरोना समेत फैलिएको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुम्भ मेलामा १ लाखभन्दा बढी मानिसहरु सहभागी भएको र फर्केकामध्ये ७५ प्रतिशत बढी संक्रमित भएको पाइएको छ । यसवाट प्रष्ट हुन्छ की नेपालमा कोरोना संक्रमण भित्रभित्रै कसरी सल्किसकेको भनेर आंकलन गर्न सकिन्छ ।

सो कुम्भ भेलामा सहभागी भएर नेपाल फर्किएका सवैको र उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिंग गर्नु जरुरी छ । समुदायमा संक्रमण फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै कुम्भ मेलाबाट फर्किएका सबै नागरिकलाई अव अन्यसँग सम्पर्क हुन नदिन स्थानीय निकायले दुर्त गतिमा खोजी गर्नु एकदम जरुरी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !