११ बैशाख २०८१, मंगलबार

चीनले नेपाललाई ५ लाख कोरोना विरुद्धको खोप दिने


सिनोफार्म

काठमाडौँ । छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई ५ लाख कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिने भएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना विरुद्धको खोप ५ लाख डोज दिने प्रतिबद्धता जनाएका छन् ।

परराष्ट्र मन्त्रालयले हिजो शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन वार्तामा वाङले उक्त प्रतिबद्धता गरेका हुन् । यसअघि माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई आफ्नै सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जानकारी दिएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङले भने दूतावासले जानकारी दिएको भन्दा २ लाख बढी खोप अनुदानमा दिने बताएका हुन् । वाङले ज्ञवालीसँग खोप सहकार्यमा नेपाललाई प्राथमिकता दिने पनि बताएका छन् । ज्ञवाली र वाङबीच दुई मुलुकको आपसी चासोका विषयमा कुराकानी भएको पनि परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !