काठमाडौँ, असोज २० । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १५५१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०८१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११०४७ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १० लाख ९९ हजार २७६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २२७०९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ९११८ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १३५९१ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४२२१ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा आज १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ७८३ जना, ललितपुर जिल्लाका ११८ जना र भक्तपुर जिल्लाका ११७ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २३४० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ६७५४२ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म नेपालका ५ जिल्ला कोरोनामुक्त भएका छन् । उक्त जिल्लामा भएका सबै कोरोना संक्रमितहरु निको भएको र हाल सक्रिय संक्रमित छैनन् । जसमा प्रदेश १ मा १, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा १ र कर्णाली प्रदेशमा १ वटा जिल्ला रहेका छन् । सोलखुम्बु, मनाङ, मुस्ताङ, रुकुम पूर्व र डोल्पा गरी ५ जिल्ला कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ७७ जिल्लामध्ये ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । मोरङ, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही जिल्ला गरी ७ जिल्लामा कोरोना भाइरसका ५०० भन्दा बढी बिरामी रहेका छन् ।