धनगढी, असोज २० । कैलाली जिल्लाका २२ जनासहित सुदूरपश्चिम प्रदेशका थप २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज दिउसो ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।
सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १ जना महिला र २२ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४७५ जनाको कोरोना परीक्षण गर्दा कैलालीका २२ जना र कंचनपुरका १ जना मा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनगढी उपमहानगरपालिका-१ र ३ का ५/५ जना, वडा नम्वर ८ का २ जना, वडा नम्वर ५ र १६ का १/१ जना रहेका छन् । लम्कीचुहा नगरपालिकाका ६ जना, गोदावरी नगरपालिकाका २ जना र कञ्चनपुरको बेलौरीका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।