सुर्खेत, भदौ २८ । कर्णाली प्रदेशमा आज दिउसो १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २७८६ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ५ जना, दैलेखका १ जना र सिराहाका १ जना रहेका छन् ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै चौरजाहरी नगरपलिका पिसिआर प्रयोगशाला, रुकुम पश्चिममा गरिएको परीक्षणमा रुकुम पश्चिमका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ११० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २५०५ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल २७५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।