सुर्खेत, भदौ २२ । कर्णाली प्रदेशमा आज दिउसो २५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २६७४ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ८ जना, मुगुका २ जना, कालिकोटका १ जना, जाजरकोटका १ जना, हुम्लाका १ जना, रुकुम पश्चिमका १ जना, दैलेखका ४ जना, बाँकेका २ जना, बर्दियाका १ जना, अछामका १ जना र तेहथुमका १ जना रहेका छन् ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा जुम्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा जुम्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २३१७ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ३५१ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।