चितवन, भदौ ८ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सोमबार राति गरिएको परीक्षणमा चितवनका १५ जना, मकवानपुरका १ जना र पूर्वी नवलपरासीको गैंडाकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ ८ गते ४०५ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १७ वटा नमुनाको नतिजा पोजेटिभ र ३८८ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । उनीहरुको पुरानो मेडिकल अस्पताल, नारायणी सामुदायिक अस्पताल, श्रीपुष्पाञ्जली हस्पिटल, राप्ती क्वारेन्टिन र रत्ननगर क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो ।
कोरोना संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ९ जनामध्ये २ जना पुरुषहरु र ७ जना महिलाहरु रहेका छन् । उनीहरुमध्ये १ जना श्रीपुष्पाञ्जली हस्पिटलमा उपचाररत भरतपुर-३ का ५१ वर्षीय पुरुष छन् । यस्तै अन्य ६ जना पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालबाट स्वाब दिएका थिए ।
यस्तै पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक हस्पिटलबाट स्वाब दिएका रत्ननगर-५ र १० का ३६ वर्षीय पुरुष १ जना र २८ वर्षीया महिला १ जनामा पनि संक्रमण पुष्टि भएको छ । यसैगरी राप्ती नगरपालिका-२ र ८ का ५८ र ४३ वर्षीय १ जना पुरुषहरु, २५ र ५१ वर्षीया २ जना महिलाहरुमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु राप्तीको क्वारेन्टिनमा रहेका छन् ।
त्यस्तै पुरानो मेडिकल कलेजमा उपचाररत मकवापनुर हेटौंडाकाकी ३८ वर्षीया महिला र पूर्वी नवलपरासी गैंडाकोटकी ५२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.अधिकारीले जानकारी दिइन् ।