२ जेष्ठ २०८१, बुधबार

प्रदेश २ मा मन्त्री र सांसदमा पनि देखियो कोरोना संक्रमण


ज्ञानेन्द्रकुमार यादव

जनकपुर, साउन २१ । नेपालको प्रदेश नम्वर २ मा मन्त्री र सांसदलाई पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास विकास मन्त्रालय उच्च स्रोतका अनुसार बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारका मन्त्री यादव, प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ भएको छ । मन्त्री यादव मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका छन् । यसैगरी, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रको सचिवालय र पारिवारिक सदस्यहरु पनि संक्रमित भएका छन् ।

यसअघि कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन वहादुर शाहीलाई कोरोना संक्रमण देखिएको थियो । साथै पर्सा निर्वाचन क्षेत्र-१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

साथै प्रदेश २ स्थित उच्च अदालत जनकपुरको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय १ जना न्यायाधीशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै उच्च अदालत राजविराजको इजलासमा कार्यरत सहसचिव स्तरका १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !