१६ जेष्ठ २०८१, बुधबार

वीरगञ्जमा थप १८ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस

वीरगञ्ज, साउन ११ । पर्सा जिल्लाको वीरगञ्जमा थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल वीरगन्जको प्रयोगशालमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरु सबै पर्सा जिल्लाका हुन् । कोरोना संक्रमितहरु पर्साको श्रीपुर पञ्चगावा, पर्सागढी, वीरगन्ज-१६ मिथिलानगर, वीरगन्ज-६ रेशमकोठी, वीरगन्ज-१४ बहुअरी, वीरगन्ज-६ माइस्थान, वीरगन्ज-११ , वीरगन्ज-१० र वीरगन्ज-२ छपकैयाका स्थानीय वासिन्दा रहेका छन् ।

कोरोना संक्रमित हुनेहरुमा १४ जना पुरूष र ४ जना महिला रहेका छन् । संक्रमित हुनेमा ९ वर्षका बालकदेखि ४५ वर्षका पुरूष समेत रहेका छन् भने स्वास्थ्यकर्मीदेखि कारखानामा कार्यरत कर्मचारीहरुलाई समेत संक्रमण देखिएको छ ।

साउन ७ गते देखि ९ गतेसम्म स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ । नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकको आइसोलेसन वार्ड संक्रमितहरुले भरिएका कारण संक्रमितहरुलाई हाल घरमै राखिएको छ ।

पर्सा जिल्लामा कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेको छ । उक्त जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको आशंका गरिएको पनि छ । पछिल्लो केही दिनयता वीरगञ्जमा पुनः कोरोना संक्रमण व्यापक फैलिएको संकेत देखिएको छ ।

कोरोना संक्रमितको संख्या बढेपछि निषेधाज्ञा लगाएको प्रशासनले पनि आइतबारबाट मास टेस्टिङ सुरु गरेको छ । जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको नेतृत्वमा मास टेस्टिङ सुरु गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !