काठमाडौँ, साउन ११ । विश्वमा कोरोना संक्रमणको महामारीसंगै सुरुको अवस्थामा थोरै संक्रमितलाई कोभिड १९ का लक्षण देखिएका थिए । त्यो बेला चीनको वुहानमा जस्तै उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने तथा सास फेर्न गाह्रो हुने लक्षण थोरै संक्रमितमा देखिएका थिए । त्यसपछि देखिएमा ९८ % बिरामी लक्षणविहिन थिए ।
२ महिना कडा तथा २ महिना खुकुलो लकडाउनपछि अहिले सरकारले लकडाउन ‘ अन्त्य ‘ गरेको छ । अहिले पहिलेको भन्दा कोरोना संक्रमणको अवस्था फेरिएको छ ।
पहिले भारतबाट लाखौँ नेपाली स्वदेश फर्किएको अवस्थामा क्वारेन्टाइनमा परीक्षण गरिएको थियो । आगन्तुकको चापले गर्दा कोरोना परीक्षणको लागि नमुना १०-१२ दिनको पालोमा समेत रहेका थिए । त्यो बेला संक्रमित खोज्नुपर्ने झंझट थिएन । भारतमा लकडाउन खुलेपछि यता आउनेको संख्या घट्दै अहिले नगण्य छ । त्यो बेला दैनिक ७ हजारको संख्यामा परीक्षण गरिएको थियो । अहिले परीक्षण घटाएर ४-५ हजार पुर्याइएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रबक्ताले संक्रमण घटेको हुँदा परीक्षण गर्ने नमुना कम भएकोले परीक्षण घटेको हो भनेका छन् । अहिले संक्रमितको संख्या घटेको छैन तर स्वास्थ्य मन्त्रालय अलमलमा परेर लक्षित बर्ग पहिचान गर्न असफल भएको छ । समुदायमा परीक्षण गर्ने नाममा सचेत बर्गमा न्यून परीक्षण गरेर समुदायमा संक्रमण नभएको भनेको छ ।
-स्वास्थ्य मन्त्रालयले लकडाउन अघिं र लकडाउनपछि संक्रमितको संख्यामा खासै फरक नपरेको भनेको छ । लकडाउन अन्त्य भएको २ हप्तासम्म नयाँ संक्रमितको आफै पहिचान हुँदैन, ब्यापक परीक्षण गर्नुपर्छ भन्ने तथ्य स्वास्थ्य मन्त्रालयले बुझ्नु जरुरी छ ।
आज स्वास्थ्य मन्त्रालयका प्रबक्ताले भनेअनुसार हाल नेपालमा दैनिक १८ हजार जनाको पिसिआर परीक्षण गर्ने क्षमता छ । त्यसो भए किन ४-५ हजारमा मात्र परीक्षण भइरहेको छ त ? हालको अवस्था हेर्ने हो भने ठूला सहरका चेतना कम भएका जोखिम ठाउँमा, भारतसंग सिमाना जोडिएका हरेक जिल्लामा तथा पहिले संक्रमित पहाडी गाउँहरुमा ब्यापक परीक्षण गर्नु जरुरी छ । यसरी परीक्षण गर्दा पुलिंग मेथडबाट दैनिक १ लाखको परीक्षण गर्न सकिन्छ ।
परीक्षण भनेको एकपटक गर्ने बिषय हैन । आज नेगेटिभ देखिएको व्यक्ति अर्को हप्ता पोजिटिभ देखिन सक्छ । तसर्थ परीक्षण निरन्तर गरिरहनु पर्दछ ।
असारको अन्त्यदेखि बिहार, युपी तथा पश्चिम बंगालमा जस्तै लक्षणयुक्त संक्रमित नेपालमा देखिएका छन् । टेकु अस्पतालमा उपचाररत संक्रमित मध्ये एक तिहाइमा लक्षण देखिएको, कतिपय संक्रमित गम्भीर भएकोले आइसीयुमा राखेर उपचार गरिएको तथा साउनदेखि पहिचान भएका संक्रमितमध्ये करिब ५० % मा लक्षण देखिएको छ ।
सप्तरी, इनरुवा, बिरगंज वा अन्य क्षेत्रमा अहिले सास फेर्न गाह्रो हुने, जाडो हुने, पखाला लाग्ने , एकदम थकाइ लाग्ने, स्वाद र गन्ध थाहा नहुने तथा कतिपयमा ज्वरो, रुघा, खोकी पनि देखिएको छ ।
लक्षण भएका संक्रमितले धेरै व्यक्तिलाई संक्रमण सार्न सक्छन् । उदाहरणको लागि कुराकानी गर्दा प्रतिमिनेट २०० भाइरस संक्रमितको नाकमुखबाट बाहिर निस्कन सक्छन् भने खोक्दा प्रति मिनेट ३००० भाइरस र हाच्छ्युं गर्दा प्रति मिनेट ३०,००० भाइरस संक्रमितले निकाल्न सक्छन् । संक्रमण हुनको लागि १००० देखि ३००० भाइरसको लोड आवश्यक भएको अमेरिकाका भाइरोलोजिस्टले बताएका छन् ।
लकडाउन खुलेको, भीडभाड बढेको, आम नागरिकमा डर घट्दै गएको, भारत तथा सिमावर्ती भारतीय राज्यहरुमा संक्रमण उच्च दरमा बढेको तथा कोरोना संक्रमणको ठोस रणनीति नभएको वर्तमान अवस्थाले जुनसुकै बेला पनि समुदायमा कोरोना फैलिने सम्भावना बढेको छ ।
हामीले बिशेष सतर्कता नअपनाउने हो भने स्थिति बिकराल बन्न सक्छ । सरकारले संक्रमित खोजी खोजी परीक्षणको दायरा बढाउने, मास्क, व्यक्तिगत दुरी जस्ता जनस्वास्थ्यका उपायलाई कडाइ गर्ने, सिमाना शिल गर्ने, नेपाली नागरिक बाहेक अन्यको लागि हवाइजहाज संचालन नगर्ने तथा ग्रीन जोनमा मात्र लामो दुरिका यातायात चलाउने आदि ब्यबस्था गर्नु अपरिहार्य छ ।
जेष्ठ नागरिक तथा दीर्घ बिरामीलाई घरमै आइसोलेसनमा राख्ने, युवा तथा बयस्कमात्र काममा जाने, सकभर सार्वजनिक यातायात प्रयोग नगर्ने तथा हरेक व्यक्ति जिम्मेवार हुनु जरुरी छ ।
हामी सबैले बुझौं, नेपाल कोरोना संक्रमणको अर्को चरणमा पुगेको छ । लक्षित बर्गमा परीक्षण गरेर संक्रमितको पहिचान गरेमा स्वास्थ्य मन्त्रालय सफल हुनेछ भने सफलता देखाउनको लागि परीक्षण घटाउने वा लक्षित बर्गमा नगर्ने प्रवृति बढ्यो भने राष्ट्रको लागि त्यो ठूलो दुर्भाग्य हुनेछ ।
*डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ, शोधकर्ता हुनुहुन्छ ।