१४ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०४


कोरोना भाइरस

७ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहानै ५:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेशका, बाग्लुङ्ग, म्याग्दी, तनहुँ र पर्बतमा गरी आज १६ जना नयाँ कोभिड-१९ सङ्क्रमित थपिएका हुन् । बाग्लुङ्गमा ९ जना, म्याग्दीमा ४ जना, तनहुँमा १ जना र पर्बतमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

डा. विनोद विन्दु शर्माका अनुसार नयाँ संक्रमण पुष्टि हुनेहरुमा बाग्लुङको गल्कोट नगरपालिकाका वर्ष २२, २६, २२ र २१ का ४ जना पुरुषहरु, ढोरपाटन नगरपालिकाका वर्ष ४८ का १ जना पुरुष, काठेखोला गाउँपालिकाका वर्ष ३२, ४० र २९ का ३ जना पुरुषहरु र बाग्लुङ नगरपालिकाका वर्ष २१ का १ जना पुरुष रहेका छन् ।

साथै म्याग्दीको रघुगंगा गाउँपालिकामा ९ वर्षीया बालिका, ३० वर्षीया महिला र ३३ वर्षका पुरुष १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मंगला गाउँपालिकाका २० वर्षका पुरुष १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै तनहुको ऋषिङ गाउँपालिकाका वर्ष २९ का १ जना पुरुष तथा पर्वतको कुश्मा नगरपालिकाका वर्ष २७ र ३२ का २ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

हालसम्म स्याङ्जामा ७६, नवलपरासीमा १३३, बागलुङमा ११२, पर्वतमा ४५, गोरखामा ४१, तनहुँमा ७१, कास्कीमा १५, म्याग्दीमा आठ तथा लमजुङ, मुस्ताङ र मनाङमा एक/एक जना सङ्क्रमित छन् । हालसम्म ४९ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् भने १ जना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रदेशमा अहिलेसम्म पिसीआर विधिबाट कोभिड–१९ परीक्षणका लागि आठ हजार ७५१ जनाको नमूना सङ्कलन गरिएकामा छ हजार ९१९ जनाको नतिजा नेगेटिभ आएको छ । जसमा एक हजार ३२८ जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

प्रयोगशालामा नमूना ‘पेन्डिङ’ हुन थालेपछि पछिल्लो पटक प्रयोगशालामा मेसिन र जनशक्ति बढाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला र प्रदेश क्षयरोग केन्द्रबाट नमूना परीक्षण गर्ने गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु