१२ श्रावण २०८१, शनिबार

यस्तो छ स्वास्थ्यको लागि बेसारको उपयोगिता


बेसार

बेसार जिन्जिबेरसी (Zingiberaceae) परिवारको एक कन्दमूल हो । यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’ हो । नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ ।

विशेषगरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी एसियाको कन्दमूल हो तर आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ । बेसारलाई तरकारी पकाउदा राखिन्छ । तरकारीमा अन्य रंग हाल्दा स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले तरकारी रंगाउन सदियौंदेखि भान्साको शोभा बनेको छ । बेसार मानव स्वास्थ्यका लागि महत्वपूर्ण औषधि मानिएको छ ।

१. धेरै पिसाब लागेमा

धेरै पटक पिसाब गरिरहनु पर्ने, पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा पनि बिहान बेलुका १/१ चम्चा शुद्ध राम्रो बेसारको धूलो पानीसँग खाने गरेमा ठिक हुन्छ ।

२. आँखाको कमजोरीमा

राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएमा निको हुन्छ ।

३. सुख्खा खोकीमा

१ चिम्टी खाने खयर, १ चिम्टी बेसार तातोपानीसँग विहान वेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकी ठिक हुन्छ ।

४. कुनैपनि घाउ, खटिरा वा काटेकोमा

राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।

५. वायुगोला गानो गएमा

१ चम्चा घ्यू कुमारीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।

६. शरीर सुनिएमा मर्केमा

५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान बेलुका २\४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।

७. गलगाँड भएमा

बिहान बेलुका शुद्ध बेसार १ चम्चा खाने र घोटेर लेप बनाएर मनतातो पारी गलगाँडमा दिनदिनै लगाउने गरेमा ठीक हुन्छ तर धेरै पुरानो भए निको हुदैन ।

८. पेट फुल्ने रोग भएमा

हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान/बेलुका खानाले ठिक हुन्छ ।

९. कफ जमेर दम हुनेमा

आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसँग खाएमा कफ जमेर हुने कफ ठिक हुन्छ । रुघा लागेमा, सर्दि भएमा ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।

१०. मूख, घाँटीमा घाउ आएमा

२ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि गारगल/कुल्ला दिनको २ पटक गरेमा ठीक हुन्छ ।

११. खोकी लागेमा

१ गिलास दूधमा १ चम्चा बेसार हालेर उमालेर दिनको २ पल्ट खाएमा ठिक हुन्छ । बेसारको टुक्रा पोलेर सुत्ने बेला चुस्ने गरेमा पनि खोकी ठिक हुन्छ ।

१२. टंसिल भएमा

टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।

१३. हात्ती पाइले रोगमा

गौत (गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान\बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ ।

१४. आँखाको रोगमा

घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।

१५. वाथ भएमा

मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

१६. दाँत बलियो बनाउन

रायोको तेलमा नून बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा दाँत जरैदेखि बलियो हुन्छ ।

१७. अनुहार सुख्खा भएमा

मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहान बेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !