७ बैशाख २०८१, शुक्रबार

प्राकृतिक चिकित्सा विधिबाट कोरोनाको उपचार गरिँदै


प्राकृतिक चिकित्सा विधि

नवलपुर, ५ असार । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमा नै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार शुरु गरेको हो ।

हाल अस्पतालमा जिल्लाभरिका ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेका अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिनुभयो । “प्राकृतिक चिकित्सा विधिबाट ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेकोमा बिहीबार थप ३१ जना सङ्क्रमित ल्याएर उपचार शुरु गरिएको छ”, पौडेलले भन्नुभयो ।

स्वस्थ खानेकुरा खान दिएर छिटो रोग प्रतिरोधात्मक क्षमता बढाउँदै सङ्क्रमितलाई स्वस्थ बनाउनका लागि प्राकृतिक उपचार विधिको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । सङ्क्रमित व्यक्तिलाई मानसिक रुपमा स्वस्थ राख्नका लागि पर्याप्त दूरी कायम गरी योग, मेडिटेसन गराएर उनीहरुलाई चाँडो सङ्क्रमणमुक्त बनाउने प्रयासमा आँफूहरू लागेको उहाँले बताउनुभयो ।

“प्राकृतिक चिकित्सा विधिबाट उपचार गरिएकाले बिरामीमा जटिलता आएको छैन, सङ्क्रमित खराब अवस्थामा पुगेका छैनन्”, उहाँले भन्नुभयो । खानाको बारेमा बुझाएपछि बिरामी आफैँले माछामासु खान मन नगरेका उल्लेख गर्दै सबैलाई सन्तुलित आहार प्रदान गरिएको निर्देशक डा पौडेलले बताउनुभयो ।

अस्पताल आएका सङ्क्रमितका लागि कोदो तथा फापरको रोटी, फलफूल, भिजाएको गेँडागुडी, खजुर लगायत खाद्य वस्तु नियमित सेवन गराइएको उहाँको भनाइ छ । शक्ति प्रदायक भोजनले सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्न नदिने, छिटो सङ्क्रमणमुक्त बनाउने तथा समुदायमा फैलिनबाट रोकथाम गर्ने पौडेलले बताउनुभयो । कोरोना सङ्क्रमित व्यक्ति अस्पतालमा पुगेपछि प्राकृतिक उपचार पद्धतिका कारण विस्तारै निको हुँदै गएका उहाँको भनाइ छ ।

१ सय श्ययाको आइसोलेसन

अस्पतालले हाल १०० श्ययाको आइसोलेसन निर्माण गरेर कोरोना सङ्क्रमितको उपचार गरिरहेको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि बिहीबार क्षमता बढाएर १२० श्यया पुर्याइएको छ । प्राकृतिक चिकित्सालयमा कोरोना सङ्क्रमित बिरामीको उपचार गर्नका लागि ४५० श्यया निर्माण गर्नसक्ने क्षमता रहेको निर्देशक पौडेलले बताउनुभयो ।

अस्पतालमा सघन उपचार कक्ष भने निर्माण गरिएको छैन । अस्पतालमा आएका सङ्क्रमित यहाँको आहारविहारका कारण स्वस्थ हुँदै गइरहेका तथा आर्थिक अभावका कारण सघन उपचार कक्ष निर्माणमा समस्या भएको पौडेलले बताउनुभयो । गम्भीर अवस्थाका बिरामीलाई चितवन तथा पोखरा पठाउने तयारी भए पनि हालसम्म एक जनाबाहेक अन्य बिरामीलाई अस्पतालले रिफर गरेको छैन ।

थप बजेट आवश्यक

हालकै अवस्थामा अस्पताललाई १०० भन्दा बढी सङ्क्रमितको उपचार गर्न कठिनाइ रहेको छ । चिकित्सालयमा भौतिक पूर्वाधार तयार अवस्थामा भए पनि सङ्क्रमित थपिएको अवस्थामा सिसीक्यामेरा, तरकारी राख्नका लागि डिफ्रिज, भ¥याङलगायत पूर्वाधार आवश्यक रहेको निर्देशक डा पौडेलले बताउनुभयो । चिकित्सालयमा कोरोना अस्पताल सञ्चालनका लागि गण्डकी प्रदेश सरकारबाट रु १० लाख तथा जिल्लाका आठवटै स्थानीय तहबाट रु ६० लाखमात्रै बजेट आएको पौडेलले बताउनुभयो ।

सङ्क्रमित बढ्दै जाँदा थप बजेटको आवश्यकता पर्ने भन्दै डा पौडेलले आफूहरुले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा कुरा गरिरहेको बताउनुभयो । “सङ्क्रमितको उपचारका लागि सामाजिक विकासमन्त्री नरदेवी पुनले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ”, उहाँले भन्नुभयो, “अस्पतालको निरीक्षणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीसमेत यहाँ आउने तयारी छ ।”

हाल अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीसमेत १५ जना कार्यरत रहेका छन् । अस्पतालमा तीन जना चिकित्सक मध्यबिन्दु जिल्ला अस्पताल डण्डाबाट तथा दुई जना स्वास्थ्यकर्मी जिल्लाका स्थानीय तहबाट खटाइएको छ । अस्पताल सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आठ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !