२० बैशाख २०८१, बिहिबार

चाँडै बुढो नहुन खाना कम गर्ने कि ?


बुढो भएपनि युवा जस्तो देखिन

अनुसन्धानकर्ताहरुले बुढ्यौलीबाट टाढै रहने उपायको नजिक पुगेको बताएका छन् । बुढ्यौलीबाट लामो समय बच्ने उपायबारे वैज्ञानिकहरुले हालै खुलासा गरेका हुन् । उनीहरुका अनुसार हामीले दैनिक खानेकुराको मात्रा घटाए मात्र पनि निरोगी रहन र बुढ्यौलीबाट बच्न सकिनेछ ।

लामो समय बाँच्न र मर्ने बेलासम्म हृष्टपुष्ट हुन उत्पादक कम्पनीहरुले सेवा तथा वस्तुको उत्पादनमा अर्बौं रकम खर्च गरिरहेकै बेला वैज्ञानिकहरुको नयाँ अध्ययन सार्वजनिक भएको छ । शरीरको कोष बुढो भएपछि मानिस पनि बुढ्यौलीको शिकार हुन्छ र अनुहार लगायत शरीरका छालामा चाउरी पर्छ ।

तर, क्यालोरीको मात्रा घटाउँदा शरीरको कोषमा असर गर्ने र यसले बुढ्यौली प्रक्रियालाई ढिलो बनाउने अध्ययनमा उल्लेख छ । कोषमा प्रोटिन बनाउने ‘रिबोसोम’ नाम गरेको तत्व हुन्छ जसले खानेकुराबाट प्राप्त प्रोटिनलाई शरीरका विभिन्न भागमा वितरण गरिदिन्छ । तर, रिबोसोम प्रक्रिया नै सुस्त भएमा प्रोटिन वितरणमा ढिलाइ भई वृद्ध अवस्था ढिलो आउने अध्ययनले देखाएको छ । रिबोसम सुस्त बनाउन खानेकुराको परिणाम पनि थोरै खानुपर्ने वैज्ञानिकहरुको सुझाव छ ।

वैज्ञानिकहरुले मुसामा यो अध्ययन गरेका थिए । उनीहरुले मुसालाई दुई समूहमा विभाजित गरी अध्ययन गरेका थिए । जसअनुसार एउटा समूहको मुसालाई अत्यधिक खानेकुरा दिइएको थियो भने अर्को समूहका मुसालाई पहिलो समूहलाई भन्दा ३५ प्रतिशत न्यून क्यालोरी दिइएको थियो । तर, बाँच्नका लागि आवश्यक पोषण तत्व भने दुवैलाई बराबर दिइएको थियो । क्यालोरी कम दिइएका मुसाको आयु अन्यको भन्दा लामो पाइयो । थोरै क्यालोरीले जैविक र रसायनिक परिवर्तन भयो जसले वृद्ध हुने प्रक्रियालाई न्यून पारिदियो ।

शरीरमा आवश्यक प्रोटिन निर्माण गरी कोषलाई सक्रिय बनाउनका लागि रिबोसोमले कोषको १० देखि २० प्रतिशत ऊर्जा खपत गरिदिने वैज्ञानिकहरुको भनाइ छ ।-एजेन्सी

यो पनि पढ्नुहोस्

हाम्रो अनुहारमा भएको दाग हटाउने उपायहरु

अनुहार चम्किलो र सुन्दर बनाउने तरिकाहरु

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !