४ जेष्ठ २०८१, शुक्रबार

दृष्टि क्षमता बढाउने खानेकुराहरु


eyes

हाम्रो भोजन र खानेकुराले दृष्टि क्षमतामा पनि प्रभाव पर्छ। भिटामिन ‘सी’ र ‘ए’ धेरै मात्रामा पाइने केही खानेकुरा आँखा स्वस्थ राख्न र दृष्टि क्षमता बढाउन सहयोगी हुन्छन्।

रातो भेँडे खोर्सानी
रातो भेँडे खोर्सानीमा प्रसस्त भिटामिन सी पाइन्छ। भिटामिन सीले हाम्रो आँखाका धमनी स्वस्थ राख्छ र मोतियाविन्दुको जोखिम घटाउँछ। काउली, मेवा र स्ट्रबेरी लगायत फलफूल र सागसब्जीमा प्रचूर मात्रामा भिटामिन सी पाइन्छ। पकाउँदा भिटामिन सी घट्ने भएकाले सकेसम्म काँचै खानु बेस हुन्छ। रातो भेँडे खोर्सानी लगायत चम्किलो रङका खोर्सानीमा भिटामिन ए र सी पर्याप्त मात्रामा पाइन्छ, दुवै भिटामिन आँखाका लागि अत्यन्त फाइदाजनक छन्।

सूर्यमुखीको बिउ र नट्स (बदाम)
वयस्कले सूर्यमुखीको बिउ वा नट्स (कागजी बदाम, बदाम, काजु, किसमिस आदि) दैनिक एक औंस खाएमा आवश्यक भिटामिन ‘ई’को आधा मात्रा प्राप्त हुने अमेरिकाको औषधि व्यवस्था विभागले उल्लेख गरेको छ। भिटामिन ईले अरु पोषक तत्वसँग मिलेर उमेर बढेसँगै विकास हुने दृष्टि कमजोरीको अवस्था ‘एज रिलेटेड माकुलर डिजेनेरेसन’ (एएमडी) आउन ढिलो पार्ने र रोकथाम गर्ने विभिन्न अध्ययनले देखाएका छन्। ह्याजलनट्स र पिनट्स, बटर भिटामिन ई पाइने गतिला स्रोत हुन्।

गाढा रङका हरिया सागपात
सलाद पत्ता, पालुंगो र रायोजस्ता गाढा हरिया सागपातमा धेरै मात्रामा भिटामिन सी र ई पाइन्छ। वनस्पतिमा पाइने भिटामिन एले एएमडी र मोतियाविन्दुजस्ता दृष्टिसम्बन्धी दीर्घकालीन रोगबाट जोगाउँछ।

साल्मन
हाम्रो आँखाको पर्दा (रेटिना) स्वस्थ रहन डिएचए र इपिए ओमेगा–३ फ्याटी एसिड चाहिन्छ। यी दुई फ्याटी एसिड साल्मन, टुना, ट्राउटजस्ता माछा र विभिन्न सामुद्रिक खानेकुरामा पाइन्छ। ओमेगा–३ फ्याटी एसिडले हाम्रो आँखालाई एएमडी र ग्लाउकोमा (मोतीविन्दु) बाट पनि जोगाउँछ। यी दुई ओमेगा–३ फ्याटी एसिडको कमी भएमा हाम्रो आँखा सुक्खा हुन्छ।

सखरखण्ड
सखरखण्ड, गाँजर, क्यान्टालुप, आँप, आरु लगायत सुन्तला रंगका फलफूल र सागसब्जी आँखाका लागि अत्यन्त फाइदाजनक छन्। यिनमा उच्च मात्रामा ‘बिटा क्यारोटिन’ पाइन्छ, जुन भिटामिन एमा परिवर्तन हुन्छ र अँध्यारोमा हेर्न आँखालाई चाँडै अभ्यस्त बनाउँछ। हामीलाई दैनिक चाहिने भिटामिन सीको आधाभन्दा बढी हिस्सा एउटा सखरखण्डमा पाइनुका साथै केही मात्रामा भिटामिन ई पाइन्छ।

गेडागुडी र सिमी
उच्च मात्रामा फाइबर तथा स्वस्थकर फ्याट प्राप्त गर्ने सर्वोत्तम स्रोत माछामासुपछि गेडागुडी र सिमी हो। फाइबर र स्वस्थकर फ्याटले राति वा अँध्यारोमा हाम्रो दृष्टि तिखो पार्छ र एएमडीबाट पनि जोगाउँछ। काबुली चना, बोडी, राजमा र विभिन्न किसिमका दालमा प्रचूर मात्रामा जिंक पनि पाइन्छ। जिंकले कलेजोमा जम्मा भएको भिटामिन एलाई रेटिनासम्म लैजाने काम गर्छ। कुखुराको मासुमा पनि जिंक पाइन्छ।

अन्डा
आँखाका लागि सर्वोत्तम खानेकुरामा अन्डा पनि पर्छ। यसमा पाइने जिंकले यसको पहेँलो भागमा पाइने ल्युटिन र जियाजान्थिनलाई शरीरले उपयोग गर्ने बनाउँछ। यी पोषक तत्वको पहेँलो–सुन्तला रङले हाम्रो रेटिनालाई हानिकारक नीलो प्रकाशबाट जोगाउँछ। साथै, दृष्टि क्षमता घट्न दिँदैनन्।

फर्सी
फर्सी यस्तो स्रोत हो, जसबाट हामी वर्षैभरि भिटामिन सी, जिंक, भिटामिन ए र ओमेगा–३ फ्याटी एसिड प्राप्त गर्न सक्छौं, जुन दृष्टिका लागि अति आवश्यक पर्छ।

ब्रोकाउली
ब्रोकाउलीमा बिटा क्यारोटिन, भिटामिन सी, ई र केका साथै म्याग्नेसियम, फोस्फरस, पोटासियम र जिंक प्रचूर मात्रामा पाइन्छ। यसमा पाइने एन्टिअक्सिडेन्टले आँखाका कोष र रेटिनालाई फाइदा पुग्छ ।swasthyakhabar


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !