३ मंसिर २०८१, सोमबार

पाठेघरको शल्यक्रिया गर्ने क्रममा महिलाको मृत्यु


भरतपुर अस्पताल

भरतपुर, चितवन । भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१२ मुनाल चोक बस्ने ३९ वर्षीया सम्झना काफ्लेको मङ्गलबार पाठेघरको शल्यक्रिया गरेर बायोप्सी निकाल्ने क्रममा मृत्यु भएको हो । माइनर (साधारण) शल्यक्रिया गर्दा नै महिलाको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार पाठेघरको बायोप्सी निकाल्दा बेहोस बनाउने क्रममा उहाँको मृत्यु भएको हो । पाठेघरमा सिष्ट भएको भन्दै उहाँको शल्यक्रिया गरेर बायोप्सी निकाल्न लागिएको थियो ।

मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको पौडेलले बताए । बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आइसीयूमा राखे पनि बचाउन नसकिएको उनले जानकारी दिए ।

मृतक महिला यही भदौ ३ गते पाठेघरको ट्यूमरको शल्यक्रियाका लागि भरतपुर अस्पतालमा भर्ना भएका थिए । मङ्गलबार बिहान ९ बजे शल्यक्रिया थियटरमा राखी लठ्ठाउने सुई लगाइ बेहोस बनाउने क्रममा उनको होस नआएको पौडेलले बताए ।

उनका अनुसार घटनाका बारेमा थप अनुसन्धान हुँदैछ । अस्पतालले समेत आन्तरिक छानविन समिति बनाएको जनाएको छ । मृतकका आफन्तले अस्पतालले उपचारमा गम्भिर लापरवाही गरेको बताएका छन् । अहिले जिल्ला प्रशासन कार्यालयमा घटनाको विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !