१५ पुस २०८१, सोमबार

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनामा अगाडि बढाउँदछु : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गरेका छन् ।

उनले नेपाल आयुर्वेद तथा प्राकृतिक चिकित्साका अलावा औषधिजन्य जडीबुटी उपलब्धताका हिसाबले महत्वपूर्ण स्थानमा रहेको उल्लेख गर्दै मुलुकको गौरवका रूपमा स्थापित वैद्यखानालाई थप गति दिने विश्वास दिलाएका हुन् ।

अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालको आयुर्वेद चिकित्सालाई थप विस्तार गरिने जानकारी दिए । उनले अतिआवश्यक जडीबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न नीतिगत निर्णय गरिने स्पष्ट पारे ।

उनले भने, “सरकारका तर्फबाट राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्णरूपमा क्रियाशील बनाई नेपालका रैथाने जडीबुटीको अध्ययन-अनुसन्धानलाई द्रुतगतिमा अगाडि बढाउन आवश्यक नीतिगत निर्णय गरिनेछ ।”

प्रधानमन्त्री दाहालले सातवटै प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडीबुटी सङ्कलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति अगाडि सारिएको जानकारी दिए । उनले गुणस्तरीय आयुर्वेद औषधि उत्पादनतर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवद्र्धन गर्ने सरकारको योजना रहेको बताए ।

प्रधानमन्त्री दाहालले आयुर्वेद औषधिको उत्पादनका लागि अतिआवश्यक जडीबुटीको निकासी पैठारीमा रहेको व्यवधानहरू हटाउन नीतिगत निर्णय गरिने उल्लेख गरे ।

विश्व समुदायलाई स्वस्थ राख्न नेपालले बहुमूल्य जडीबुटी निर्यात गर्न सक्ने गरी वातावरण तय गरिने बताए । प्रधानमन्त्री दाहालले सरकारको तर्फबाट जडीबुटी खेतीका लागि अनुदानका लागि आवश्यक प्रबन्ध गरिने विश्वास दिलाए ।

नेपाल आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल भएको जनाउँदै उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण परिरहेका समस्यालाई न्यूनीकरण गर्न आवश्यक रहेकामा जोड दिए । आयुर्वेदका लागि नेपालमा रहेका वनस्पति जोगाइराख्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीले सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । नेपालमा पाइने यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसीलगायतका अति महत्वपूर्ण वनस्पतिको थप अध्ययन र अनुसन्धान हुनु आवश्यक रहेको उनको भनाइ छ ।

स्वास्थ्य पर्यटनलाई प्रवद्र्धन गर्न आयुर्वेद, पञ्चकर्म, योग, ध्यान कार्यक्रम सञ्चालन गर्न अस्पताल, उपचार केन्द्र, वेलनेस सेन्टर स्थापना गर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले त्यसका लागि नीतिगत निर्णय भइसकेको जानकारी दिए । सातवटै प्रदेशमा एक सय शय्याको आयुर्वेद अस्पताल सातै प्रदेशमा सञ्चालनमा ल्याउने उनको भनाइ छ ।

भारत सरकारले उच्च प्राथमिकतामा राखेको आयुर्वेद अनुसन्धानको कार्यलाई नेपालमा पनि निरन्तरता दिन त्यहाँको आयुष मन्त्रालयसँग सहकार्य गरिने प्रधानमन्त्री दाहालको भनाइ छ । महर्षि वैदिक फाउन्डेसन, अन्तर्राष्ट्रिय महर्षि फाउन्डेनसन र अन्य आयुर्वेदसम्बन्धी अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहकार्यमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको आयोजना गरिएको नेपाल आयुर्वेद चिकित्सिक सङ्घका महासचिव डा. कोपिला अधिकारीले जानकारी दिइन् ।

सम्मेलनको मूल नारा ‘सम्पूर्ण स्वास्थ्यका लागि आयुर्वेद’ रहेको छ । आयुर्वेदको उद्गमस्थलका रूपमा रहेको नेपालमा आयोजित यस सम्मेलनमा ५० भन्दा बढी देशका आयुर्वेदविज्ञ, अनुसन्धानकर्ता, उद्योगी, चिकित्सकलगायत पाँच सय बढीको सहभागिता छ ।

आयुर्वेदको प्रचार-प्रसारमा सहयोग पुर्‍याउने र स्वास्थ्य पर्यटनमा टेवा पुर्‍याउने लक्ष्यका साथ सुरु भएको सम्मेलनमा चिकित्सकका अलावा विद्यार्थी, प्राध्यापक, उत्पादक, व्यवसायीलगायतको सहभागिता छ ।

नेपाल महर्षि वैदिक फाउन्डेनसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले सम्मेलनले नेपालको परम्परागत आयुर्वेद पद्दति तथा औषधिका बारेमा विश्व समुदायलाई जानकारी दिने र विश्व स्वास्थ्यका लागि योगदान दिने बताए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आयुर्वेदको प्रवद्र्धनका लागि भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले आयुष मन्त्रालय नै स्थापना गरेर यस क्षेत्रलाई महत्व दिएको बताए । उनले आयुर्वेद तथा प्राकृतिक चिकित्सा, जडीबुटीको क्षेत्रमा दुई देशले एकापसमा सहकार्यका लागि केही प्रयास अगाडि बढाइसकेको र आगामी दिनमा यसले थप सार्थकता पाउने उल्लेख गरे । सम्मेलन आगामी आइतबारसम्म चल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !