२६ पुस २०८१, शुक्रबार

बैतडीमा घरपालुवा पशुमा खोरेत रोगको समस्या


खोरेत रोग

बैतडी । बैतडी जिल्लाका चार स्थानीय तहका घरपालुवा पशुमा खोरेत रोगको समस्या देखा परेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पाटन नगरपालिका वडा नं ५, दशरथचन्द नगरपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं २ र पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा घरपालुवा पशुमा खोरेत रोगको समस्या देखिएको हो । उनले भने, “गाई, भैँसी, गोरु, बाख्रालगायतका घरपालुवा जनावरमा खोरेत रोगको समस्या देखिएको छ, रोगका कारण घरपालुवा पशु मर्नेसमेत गरेका छन् ।”

रोग देखापरेका ठाउँमा खोरेतविरुद्धको खोप अभियानसमेत सञ्चालन गरिएको छ । अहिले गाउँगाउँमा पुगेर प्राविधिकले खोप लगाउन थालिएको केन्द्रले जनाएको छ । रोगको समस्या देखिएको ठाउँमा अन्य पशुलाई रोग नलागोस् भनेर खोप दिइने गरिन्छ । केन्द्रले खोरेत रोगविरुद्ध खोप निःशुल्क उपलब्ध गराएको छ भने सम्बन्धित पालिकाका प्राविधिकले खोप लगाउने काम गरिरहेका छन् ।

पशुहरूमा खोरेत रोग देखिएमा मुखमा घाउ हुने, खुट्टाको काप र खुरमा घाउ हुने , हिँड्न नसक्ने, जिब्रोमा समेत असर हुनेलगायतका लक्षण देखा पर्दछन् । रोग लागिसकेपछि निको हुने सम्भावना कम हुने गरेकाले गोठ सफा राख्ने, सरसफाइमा विशेष ध्यान दिन किसानलाई सुझाव दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !