८ बैशाख २०८१, शनिबार

बाजुरामा बढे निमोनियाका बिरामी


जिल्ला अस्पताल बाजुरा

बाजुरा । बाजुरा जिल्ला अस्पताल बाजुरा निमोनियाका बिरामीले भरिभराउ भएको छ । एक सातायता दैनिक १५ देखि ३० जनासम्म बालबालिका निमोनियाका बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. प्रकाश जोशीले बताए ।

निमोनिया जस्तो लक्षण देखापरेको बच्चाहरुको अक्सिजनको सहारामा उपचार भइरहेको जिल्ला अस्पताल बाजुराका डा. जोशीको भनाइ छ । हाल अस्पतालमा १३ बालबालिकाको उपचार भइरहेको छ ।

सबै बालबालिकामा निमोनिया भएको र तीमध्ये एक जनामा कोरोना सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए ।

केही दिनअगाडि कोरोना हो कि भन्ने शङ्कामा जिल्ला अस्पतालमा भर्ना भएका १३ बालबालिकाको स्वाब सङ्कलन गरी डोटी प्रयोगशालामा पठाउँदा एक जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

कतिपय बच्चा सामान्य रहेको भए पनि धेरै बच्चा भने जटिल अवस्थामा रहेकाले अक्सिजनको सहारा दिनुपरेको अस्पतालले जनाएको छ । जिल्लाका स्वास्थ्य संस्था तथा अस्पतालमा पनि निमोनियाका बिरामी उपचारमा आउने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !