४ जेष्ठ २०८१, शुक्रबार

मोदीले समय नदिएकोले माधव नेपालको भारत भ्रमण स्थगित


Madhav kumar Nepal

मंसीर १८, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटका लागि समय नदिएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण स्थगित भएको छ । भारतीय नक्सामा नेपाली भूमि समेटिएको विषयमा कुरा गर्न नेपाललाई विशेष दूत बनाएर पठाउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

भेटघाटका लागि दुवै देशका परराष्ट्र मन्त्रालय मार्फत समन्वय भइरहेको छ । तर भारतीय प्रधानमन्त्री मोदीको समय नमिलेका कारण नेता नेपालको दिल्ली भ्रमण रोकिएको ब्रिफिङ नेकपाको सचिवालय बैठकमा गरिएको छ । आज बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकमा यसबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपालले पछिल्लो प्रगतिबारे ब्रिफिङ गरेका थिए ।

भारतीय नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा परेपछि त्यसको विरोध भइरहेको छ। सरकारले भने यो समस्या समाधानका लागि भारतसँग कूटनीतिक पहल सुरु गरेको हो । सीमा विवाद चर्किएपछि त्यसलाई लिएर भारत र नेपालका पूर्व परराष्ट्र सचिवहरूले कडा प्रकृतिका अभिव्यक्तिहरू पनि सार्वजनिक गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !