८ जेष्ठ २०८१, मंगलबार

काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय


निषेधाज्ञा

काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा भदौ १७ गते राति १२ बजेसम्मका लागि एक हप्ता लम्ब्याउने निर्णय गरेको हो ।

अब, काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय चल्न पाउँदैनन् । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा आज बुधवार राति १२ बजे सकिँदैछ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमिणको दर दैनिक बढिरहेको भन्दै मंगलबार काठमाडौंका मेयरहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।

निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिनेछ । खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू सवा ९ बजेसम्म खुल्ने छन् । सरकारी गाडी, एम्बुलेन्स, कार्डबाहक सवारी साधनहरूलाई रोकिने छैन ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ-जाउ गर्न सक्नेछन् ।होटल, रेष्टुरेन्ट, फुटपाथ पसल समेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

संक्रामक रोग ऐन-२० को दफा २ र स्थानीय प्रशासन ऐन-२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ । थप गरिएको निषेधाज्ञा अवधिमा आईसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !