६ बैशाख २०८१, बिहिबार

काभ्रेमा खानेपानीका चार बृहत् आयोजना सञ्चालन


पानीको धारामा बरफ जम्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा खानेपानीका चार बृहत् आयोजना सञ्चालनमा आएका छन् । नमोबुद्ध नगरपालिकामा रु ३० करोड लागतमा बृहत् खानेपानी आयोजना कार्यान्वयको चरणमा छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत नगरपालिकाका वडा नं ६, ७ र ८ सहित भकुण्डे उपत्यकामा सहजरूपमा खानेपानीको सुविधा पुर्याउन उक्त बृहत् खानेपानी आयोजना सञ्चालनको प्रक्रिया अघि बढेको हो ।

वडा नं ६ स्थित रोशीखोलाबाट लिफ्ट गरी एक हजार ६०० भन्दा बढी परिवारका लागि खानेपानीको व्यवस्थापन गर्न आयोजनाले रु २९ करोड ७८ लाख २० हजार ३६८ बराबरको लागत अनुमान गरेको छ ।

नमोबुद्धका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले नगरको गौरवको आयोजना भएको र यसले ‘एक घर, एक धारा’को अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनका अनुसार आयोजना सञ्चालनार्थ मूलको व्यवस्थापन र उपभोक्ता समिति पनि गठन भइसकेकाले आयोजनाको काम तीव्ररूपमा अघि बढ्नेछ । आयोजना निर्माण सुरु भएको तीन वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ ।

यस्तै मण्डनदेउपुर नगरपालिकामा बृहत् खानेपानी आयोजनाको प्रक्रिया थालिएको छ । यसका लागि पहिलो चरणमा रु ५४ करोडको ठेक्का आह्वान गरिएको हो । गतसालको चैतमा उक्त खानेपानी आयोजनालाई रु एक अर्ब स्वीकृत भएको थियो ।

मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरिकको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । नगरका १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो ।

उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयसँग प्रतिउपभोक्ता रु एक हजार लिएको छ । नगरसँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब रु एक करोड लगानी गर्ने सम्झौता गरिएको उपभोक्ता समिति अध्यक्ष रामबहादुर तामाङले बताए ।

उनका अनुसार खानेपानी आयोजना सम्पन्न गर्न हाल बोलपत्र आह्वान गरिएको छ । आयोजनाको बोलपत्रलगायत प्रारम्भिक चरणको प्रक्रियाका लागि हाल नगरपालिकाले रु ५१ लाख ६६ हजार उपलब्ध गराएको छ ।

तामाङका अनुसार ठकेदार कम्पनीको छनोट गरी सम्झौतापछि खानेपानी आयोजना तीन वर्षभित्र सक्नुपर्ने योजना बनाइएको छ । खानेपानी आयोजनाबाट नौ वडाका पाँच हजार ५०५ परिवार लाभान्वित हुनेछन् । नगरस्थित ७ नं वडाको सोते र १० नंको नारिमखर्क भएर बगेको इन्द्रावती नदीमा इनार बनाएर लिफ्टमार्फत नगरका बासिन्दामा खानेपानी उपलब्ध गराइने योजना बनाइएको विभागका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले बताए । उनले भनेयो, “लिफ्टिङ प्रविधिको यस आयोजनाले पाँच हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा खानेपानी उपलब्ध गराइनेछ ।

करिब एक वर्षअघि पाँचखाल नगरपालिकामा बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम थालिएको थियो । भुम्लु गाउँपालिका–१० बिमिरेस्थित इन्द्रावती नदीकिनारमा इनार निर्माण गरी लिफ्टिङ प्रविधिमार्फत खानेपानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष कुमार लामछिानेले बताउनुभयो । उहाँका अनुसार पाँचखालका १० वडाका सात हजारलाई खानेपानी पुर्याइनेछ ।

खानेपानी आयोजनाअन्तर्गत सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको उक्त खानेपानी आयोजना रु दुई अर्ब २१ करोडको लागतमा अढाइ वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको छ । हाल कार्यान्वयनको चरणमा रहेका आयोजनाअन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा मानिएको छ ।

आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । त्यसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका हुन् । इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्ग तथा वितरण केन्द्रहरुमा भौतिक निर्माणको काम भइरहेको छ ।

त्यसो त दुई वर्षअघि तेमाल गाउँपालिकामा रु एक अर्ब ३० करोडभन्दा बढीको लागतमा बृहत् खानेपानी आयोजनाको काम सुरु गरिएको थियो । उक्त खानेपानी आयोजनाको ९५ प्रतिशत काम सकिएको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताए । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

नेपाल सरकार, खानेपानी विभाग, गाउँपालिका कार्यालय र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको उक्त आयोजना सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । गतसालको कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण सम्झौतापछि उक्त आयोजनाको काम केही समय धकेलिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !