९ मंसिर २०८१, आइतबार

माओवादीबाट गलकोटको मेयरमा लोकगायक विष्णु खत्री सिफारिस


विष्णु खत्री

बागलुङ । लोकगायक विष्णु खत्री माओवादीबाट गलकोट नगरपलिकाको मेयरमा सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र) गलकोट नगर कमिटीले लोकगायक खत्रीलाई गलकोट नगरपालिकाको मेयरको उम्मेदवारमा सिफारिस गरेको हो ।

माओवादी केन्द्र गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्रीसहित माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’, प्रदेश सदस्य फमलाल न्यूरे, प्रदेश सदस्य चन्द्रबहादुर थापा ‘शिखर’, गलकोट नगर कमिटी अध्यक्ष तिलक उप्रेती र नगर कमिटी उपाध्यक्ष गंगा भुजेल गरी ६ जनालाई मेयरको उम्मेद्वारका लागि सिफारिस भएका हुन् ।

यसअघि लोकगायक खत्री माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका थिए । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताएका थिए ।

राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनको भनाइ छ । आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा सँधै क्रियाशील भएर लाग्ने उनले बताए । गलकोट–७ मल्ममा जन्मिएका उनीयसअघि माओवादी केन्द्रको नगर समिति सदस्य रहेर काम गरेका थिए ।

उनी विसं २०७४ को स्थानीय तहका निर्वाचनमा सोही पार्टीको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा सिफारिस समेत भएका थिए । लोकसङ्गीत क्षेत्रमा रुचाइका गायक-सर्जक खत्रीले सयौँ गीतमा स्वर दिएका छन् ।

शब्द रचना र भाका निर्माणमा पनि उनी उत्तिकै पोख्त छन् । उनले गीतकामार्फत विकृति, विसङ्गती, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठान गर्दै आएका छन् । उनका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो, कि सास चाहियो’ र ‘जम्मु कश्मिरमा’ लगायत गीत चर्चित छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !