काठमाडौँ । नेपालकै पहिलो स्ट्यान्ड-अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो संस्करणको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । आज शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा भरतमणि उत्कृष्ट घोषित भएर उपाधि हात पारेका हुन् ।
च्याम्पियनको टप-३ (फाइनल) मा पौडेल, सिक्किमका बिक्की अग्रवाल र गोरखाका सन्तोष थापा पुगेका थिए । भरतमणि प्रस्तुतिका आधारमा ‘पफर्मर अफ द राउण्ड’ भएर सिधै टप-३ मा पुगेका थिए भने सन्तोष र बिक्की भोट र प्रस्तुतिको आधारमा टप-३ मा पुगेका थिए ।
क्यारिकेचरमा अब्बल भरतमणि पछिल्ला एपिसोडमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर चर्चा बटुलेका छन् । यस्तै उनले राजेन्द्र महतो, गोकुल बास्कोटा, योगेश भट्टराई लगायतका नेताहरुको नक्कल गरेका थिए ।
कमेडी च्याम्पियन सिजन–२ मा पूर्वमन्त्री गोकुल बाँस्कोटादेखि राष्ट्रिय सभा सांसद रामनारायण बिडारी मात्र होइन, पूर्वयुवराज पारस र पूर्वराजा ज्ञानेन्द्र शाहसम्मको क्यारिकेचर गरेर दर्शकको मन जितेका थिए ।
उनले पूर्व युवराज पारस शाहको गेटअपमा गरेको प्रस्तुतिको भिडियो सामाजिक संजाल टिकटकमा भाइरल भएको थियो भने युट्युबको ट्रेनिङमा पर्न सफल भएको थियो । भरतमणि रेडियोमा कार्यक्रम चलाउँदा कलाकार र नेताहरुको क्यारिकेचर गर्दागर्दै हास्यव्यंग्य क्षेत्रमा प्रवेश गरेका हुन् ।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिंदै पौडेलले दर्शक तथा निर्णायक मन जित्न सफल उनलाई यस अघिदेखि नै उपाधिका दावेदारको रुपमा समेत हेरिएको थियो । सामाजिक सञ्जालमा सबैभन्दा धेरे भरतमणिको पक्षमा मत देखिएको थियो ।
ताप्लेजुङका भरतमणि रेडियोमा कार्यक्रम चलाउँदा कलाकार र नेताहरुको क्यारिकेचर गर्दागर्दै हास्यव्यंग्य क्षेत्रमा प्रवेश गरेका हुन् । २०६९ साल माघमा उनी रेडियो तमोरको जागिर छोडेर काठमाडौं आए । कलाकारितालाई निखार्ने सोचले काठमाडौं आएका उनले रेडियो कान्तिपुरको ‘साथीसँग मनका कुरा’ कार्यक्रमका लागि अडिसन दिएपनि छनोट नभएर फेरि ताप्लेजुङ नै फर्किएर उही पुरानो अफिस रेडियो तमोर पुगेका थिए ।
काठमाडौंबाट निराशा लिएर फर्किएका उनलाई रेडियो तमोरका अग्रज सहकर्मीहरूले हौसला दिए । ताप्लेजुङ, दोखुका भरतमणि पौडेल अहिले काठमाडौंमा भाडामा बस्दै आएका छन् । भरतमणिको पक्षमा नेकपा (एमाले) का ताप्लेजुङका नेता योगेश भट्टराई, नेपाली काँग्रेसका नेता गगन थापा लगायतका नेताहरुले भोट मागेका थिए ।
ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको रहेको सहभागितामा हरिवंशले विजेताको नाम घोषणा गरेका थिए भने सेकेण्ड रनरअपको नाम घोषणा मदनकृष्णले गरेका थिए ।
उनले २५ लाख रुपैयाँ नगद र एउटा कार र अन्य थुप्रै आकर्षक उपहारहरु पाएका छन् । साथै, दास्रो हुने बिक्कीलाई बाइक र तेस्रो हुने सन्तोषलाई स्कुटर पाएका छन् । विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए ।
यो पनि पढ्नुहोस्
ताप्लेजुङका भरतमणि पौडेल सिधै ‘कमेडी च्याम्पियन २’ को फाइनलमा प्रवेश
कमेडियन भरतमणिको पूर्व युवराज पारस शाहको गेटअपको भिडियो भाइरल