२१ पुस २०८१, आइतबार

पोखराकी एलिना गुरुङ बनिन् पहिलो नेपाल स्टार


एलिना गुरुङ

काठमाडौँ । सिङ्गिङ रियालिटी शो वाई वाई नेपाल स्टार सिजन १ को उपाधि पोखराकी एलिना गुरुङले जितेकी छिन । एलिना विजेता भएसँगै ३५ लाख नगद पुरस्कार सहित १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् भने अन्य ३ जना प्रतियोगीले जनही ५ लाख रुपैयाँ पुरस्कार सहित ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेका छन् ।

फाइनलमा पुगेपछि उनलाई उक्त शोको उपाधिका दावेदारको रुपमा हेरिएको थियो । डेञ्जर जोनमा कहिल्यै नपरेकी एक्ली महिला फाइनल प्रतिष्पर्धी गुरुङले फाइनल प्रवेशका लागि मदन सिंह नेपाली र सुक्मित गुरुङको स्वरमा रहेको “रेलिमै रेलिमै रेलिमै लाहुरे दाईको रेलिमै”बोलको गीत दमदार प्रस्तुति गरेकी थिइन् ।

नेपाल स्टार सिजन १ मा टप ५ बाट ४ अर्थात फाइनलमा पोखरेली चेली एलिना गुरुङसँगै काठमाडौका सुरेस लामा, ताप्लेजुङका लक्ष्मण लिम्बु, सुनसरीका सन्देश बोमजन लामा प्रवेश गरेका थिए भने पोखरा कै अमिन परियारको नेपाल स्टार सिजन १ को यात्रा टुङ्गिएको थियो ।

देशभर गरिएको अडिशनबाट छनोट भएका १८० जना प्रतिस्पर्धी मध्येबाट अन्तिम छनौटका लागि चुनिएका ४ जना उत्कृष्ट गायकबीच अन्तिम प्रतिस्पर्धा र दर्शकको भोटिङबाट विजेता घोषित गरिएको हो । यस रियालिटी शोको लागि आलोक श्री, रामकृष्ण ढकाल र अन्जु पन्त निर्णायकको रुपमा रहेका थिए ।

नेपाल टेलिभिजनले संचालन गरेको यो नेपालको सबैभन्दा ठूलो गायन रियालिटी शो हो । नेपाल टेलिभिजनले आज प्रत्यक्ष प्रसारण मार्फत बिजेता घोषणा गरेको हो । दर्शकहरुको भोटिङका आधारमा बिजेता घोषणा गरिने र आज बेलुका ६ बजेसम्म भोटिङ गर्ने समय तोकिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !