३ मंसिर २०८१, सोमबार

कोरोना हिरोहरुको कथामा बन्यो ‘सिभिल सोल्जर्स’


सिभिल सोल्जर्स

काठमाडौँ । नेपालमा कोरोनाविरुद्वको लडाईंमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरुको कथामा आधारित ‘सिभिल सोल्जर्स’ बृत्तचित्र निर्माण गरिएको छ । ‘भाग्यले बाँचेकाहरु’ र ‘सहायक श्रीमान’ जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्म निर्माण गरिसक्नुभएका निर्देशक गणेश पाण्डेले कोरोना हिरोहरुको कथालाई लिएर ‘सिभिल सोल्जर्स’ बनाउनुभएको हो ।

‘सिभिल सोल्जर्स’ को कार्यकारी निर्माता तथा लेखक पनि उहाँ आफैँ रहनुभएको छ । कोरोनाको कारण भएको बन्दाबन्दी र त्यसपछि उत्पन्न परिस्थितिले सिर्जना गरेको असहज अवस्थामा पनि अनुकरणीय काम गरेका युवाहरुको कथामा ‘सिभिल सोल्जर्स’ केन्द्रीत रहेको निर्देशक तथा कार्यकारी निर्माता पाण्डेले बताउनुभयो ।

यो वृत्तचित्र फिल्म आगामी बिहीबारदेखि काठमाडौँमा शुरु हुने काठमाडौँ अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ)मा ‘रिलिज’ हुँदैछ । बन्दाबन्दीका बेला मानिसहरु घरमा थुनिएर बस्नुपरेका बेला निर्देशक पाण्डे र उहाँको टोली डकुमेन्ट्री बनाउन व्यस्त थियो । यसलाई पुकार तिमिल्सिना र अविनाश लामाले क्यामरामा कैद गरेका छन् ।

‘समग्रमा कोरोनाका कारण नेपाली जीवनमा पारेको असर र त्यतिबेला स्वतःस्फूर्त सर्वसाधारणको सेवामा निस्केका स्वयमसेवी युवाहरुको विभिन्न अनुभव, खुसी, पीडा र उत्प्रेरणाको मिश्रणलाई सिभिल सोल्जर्समा देख्न सकिन्छ,’ निर्देशक पाण्डे भन्नुहुन्छ, ‘‘सेना, प्रहरी र सरकारी चिकित्सकहरुको यस्ता संकटमा काम गर्ने आफ्नो दायित्व थियो ।

मान्छे देखेर मान्छे डराउनुपर्ने परिस्थितिमा केही युवाहरुले अनुकरणीय कार्य गरे, त्यसैलाई हामीले क्यामेरामा कैद गरेका हौँ । आगामी पुस्ताका लागि यो ऐतिहासिक दस्तावेज हुने हामीले विश्वास लिएका छौँ ।’’

साइन मिडिया प्राइभेट लिमिटेडको प्रस्तुति रहेको ‘सिभिल सोल्जर्स’को शारदा गैरे निर्मात्री हुनुहुन्छ भने ईश्वर कोइरालाले दृश्य सम्पादन गर्नुभएको छ । आशिष चित्रकारको सगीत रहेको ‘सिभिल सोल्जर्स’लाई योगेश पोखरेल, विन्देश दाहाल र शिवप्रसाद उप्रेतीले भाषा अनुवाद गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !