१२ बैशाख २०८१, बुधबार

मकवानपुरका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण शुरु


विद्युत् प्रसारण लाइन

वाग्मती । मकवानपुरको ग्रामीण तथा दुर्गम क्षेत्रका बस्तीमा ग्रामीण विद्युतीकरणको काम शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रको कार्यालय हेटौँडाद्वारा शुरु गरिएको विद्युतीकरण कार्यका लागि चालु आर्थिक वर्षमा रु नौ करोड ९० लाख वजेट विनियोजन भएको केन्द्रले जनाएको छ । विद्युतीकरणका लागि बोलपत्रसमेत स्वीकृत भइसकेको र केही स्थानमा निर्माण प्रक्रियासमेत भइरहेको केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको सात गाउँपालिकासहित एक उपमहानगरपालिकामा ग्रामीण विद्युतीकरणको काम आगाडि बढाएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मकवानपुरको मनहरि गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, वकैया गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र वाग्मती गाउँपालिका तथा हैटौँडा उपमहानगरपालिका क्षेत्रमा ग्रामीण विद्युतीकरणको काम शुरु भएको छ ।

यसका साथै कार्यालयले काठका पोल विस्थापित गरी नयाँ सिमेन्टका पक्की पोल जडान गर्ने र तार तथा नयाँ टान्सफर्मरसमेत लगाउने काम गरिरहेको छ । कार्यालयका अनुसार विद्युत् मिटर लिने ग्राहकको सङ्ख्या ६५ हजार २५४ रहेको छ । चालू आवको चैत महिनासम्ममा चार हजार नयाँ विद्युत् मिटर ग्राहक थपिएको छ । विगतमा ६१ हजार ग्राहक रहेका थिए । विद्युत् महसुलवापत कार्यालयले मासिक रु १९ करोडभन्दा बढी रकम उठाउने गरेको कार्यालयको लेखा शाखाले जनाएको छ ।

लामो समयसम्म विद्युत् महसुल नबुझाउने ग्राहकको सङ्ख्या २२ हजार रहेको र उनीहरुको विद्युत् लाइन काटिएको छ । तीमध्ये ५४० ग्राहकलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कालोसूचीमा परेकाहरुबाट रु ६६ लाख महसुल उठ्न बाँकी रहेको छ । साथै कारवाहीमा परेकाहरुको घरबाट विद्युत् मिटरसमेत उठाउने काम भइरहेको बताइएको छ । त्यस्तै कार्यालयले विद्युत् महसुल बुझाउनमा समस्या आउन नदिनका लागि सो कार्यालयअन्तर्गत मनहरि, भीमफेदी र फापरबारीमा विद्युत् महसुल काउन्टरको व्यवस्था गरिएको छ भने अनलाइनबाट समेत विद्युत् महसुल बुझाउने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !