१३ बैशाख २०८१, बिहिबार

मकवानपुर-२ बाट विरोध खतिवडालाई हराउँदै महेश बर्तौला निर्वाचित


महेश बर्तौला

बागमती । नेकपा (एस) का नेता विरोध खतिवडा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलासँग पराजित भएका छन् । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार खतिवडालाई पराजित गर्दै बर्तौला विजयी भएका हुन् ।

बर्तौलाले खसेको कूल ८६ हजार तीन सय एकमध्ये ३४ हजार नौ सय १६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी खतिवडाले ३० हजार तीन सय ९४ मत प्राप्त गरे ।

यस क्षेत्रमा प्रदेशका दुवै सिट गठबन्धनले जितेको छ । २ को ‘१’ मा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्यसमेत रहनुभएकी बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मुक्तान विजयी भएका छन् भने २ को ‘२’ मा नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ निर्वाचित भएका छन् ।

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भने जारी रहेको छ । १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पछि पारिरहेका छन् भने राप्रपाका दीपकबहादुर सिंह सँगसँगै छन् ।

हेटौँडाको मुख्यबजार क्षेत्रको मत गणना बाँकी रहेको छ । यस क्षेत्रका प्रदेशका दुवै सिटको नतिजा भने सार्वजनिक भइसकेको छ । क्षेत्र नं १ को प्रदेशसभा १ मा माओवादीका प्रेमबहादुर पुलामी र २ मा एमालेका एकलाल श्रेष्ठ विजयी भएका छन् ।

संविधानसभा सदस्य पुलामी यसअघि पनि प्रदेशसभा सदस्य थिए । त्यस्तै एमाले मकवानपुरका अध्यक्ष समेत रहेका एकलाल भने संसदीय राजनीतिमा नयाँ अनुहार हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !