४ बैशाख २०८१, मंगलबार

झापा-५ बाट एमाले अध्यक्ष ओली दोब्बर बढी मतले विजयी


केपी शर्मा ओली

झापा । झापा निर्वाचन क्षेत्र नं ५ बाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् । झापा ५ बाट एमाले अध्यक्ष ओली दोब्बर बढी मतले विजयी भएका हुन् ।

एमालेका अध्यक्ष ओलीले आफ्ना प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेका नेपाली कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ को फराकिलो भारी मतान्तरले विजयी भएका छन् ।

ओलीले ५२ हजार ३१९ मतले प्राप्त गरेर विजयी भएका हुन् भने अधिकारीले २३ हजार ७४३ मत मात्र ल्याएका छन् । अध्यक्ष ओली योसँगै ६ पटक विजयी बनेका छन् । यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेका छन् ।

झापा क्षेत्र नं ५ मा पुरानै अनुहार ओली र अधिकारीबीच प्रतिस्पर्धा रहेको थियो । विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो । त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो । उनले कांग्रेस उम्मेदवार अधिकारीलाई २८ हजार ८४२ मतान्तरले पराजित गरेका थिए ।

ओलीले २०७४ सालमा ५७ हजार १३९ तथा अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा पनि एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन थियो । यसपटक पनि उक्त साथ कायमै थियो ।

संविधानसभाको पहिलो निर्वाचन २०६४ बाहेक २०४८ सालयता भएका कुनै पनि निर्वाचनमा एमाले अध्यक्ष ओली पराजित भएका छैनन् । विसं २०४८ यता ओलीले यो निर्वाचन क्षेत्रमा छुट्टै विरासत कायम गरेका हुन् ।

विसं २०६४ को संविधानसभाको निर्वाचनमा भने उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वदीप लिङ्देनसित पराजित भएका थिए । ओली छ पटक यस क्षेत्रबाट निर्वाचित भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !