पथरी । मोरङ क्षेत्र नं ३ मा डा. सुनिल शर्माको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभा सदस्यको छ हजार तीन सय ५६ मत गन्दा गठबन्धबाट नेपाली कांग्रेसका शर्माले ३ हजार १ सय ३२ प्राप्त गरेका छन् भने नेकपा (एमाले) का पूर्वमन्त्री भानुभक्त ढकालले १ हजार ५ सय ७३ मत पाएका छन् ।
राप्रपाकी रेखा थापाले ९ सय ६ मत प्राप्त गरेर तेस्रो स्थानमै रहेकी छन् । जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको उक्त क्षेत्रमा ९७ हजार चार सय ६८ खसेको थियो ।
सो क्षेत्रमा पथरी शनिश्चरे नगरपालिका– ८ बेलबारी नगरपालिका– ८, सुन्दरहरैचा नगरपालिकाको ६ र कानेपोखरी गाउँपालिकाको चार गरी २६ वटा वडा रहेका छन् ।
तीन ठाउँमा मतगणना हुँदै
सङ्घीयको समानुपातिकका लागि एक ठाउँ र प्रदेश ‘क’ र ‘ख’ का लागि एक÷एक ठाउँमा मतगणना सुरु भएको उक्त क्षेत्रका निर्वाचन अधिकृत रामहरि काफ्फेले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्यका लागि ३१ जनाको उमेदवारी रहेको यस क्षेत्रमा नेकपा (एमाले)बाट पूर्वमन्त्री ढकाल, सत्ता गठबन्धनबाट कांग्रेसका शर्मा र राप्रपाकी नेत्री तथा नायिका रेखा थापा प्रतिस्पर्धामा छन् ।