७ बैशाख २०८१, शुक्रबार

मुस्ताङमा ६२ वर्षीय एमालेका तुलाचन र २९ वर्षीय कांग्रेसका गौचन आमनेसामने


प्रेमप्रसाद तुलाचन र योगेश गौचन

म्याग्दी । मुस्ताङमा मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

मुस्ताङमा एमालेले जित दोहोर्याउने र कांग्रेस पुनरागमन हुने रणनीतिका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । विसं २०४७ पछि मुस्ताङमा कांग्रेसले तीनपटक र एमालेले दुईपटक संसदीय निर्वाचन जितेका छन् ।

प्रतिनिधिसभामा एमालेका केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचन र कांग्रेसका गण्डकी प्रदेश सदस्य योगेश गौचन प्रमुख प्रतिस्पर्धी छन् । विसं २०७० को चुनावमा कांग्रेसका रोमी गौचन थकालीले कांग्रेसबाट बागी उठेका प्रेमलाई पराजित गर्दै निर्वाचित भएका थिए । विसं २०७४ मा एमाले प्रवेश गरेका प्रेमले रोमीलाई पछि पार्दै दोस्रो प्रयासमा संसद् छिरे ।

विसं २०७० मा १३ मतले चुनाव जितेका गौचन र २०७४ मा तुलाचनसँग चार सय ८५ मतान्तरले पराजित भए । गौचन २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०७३ मा वाणिज्यमन्त्री बनेका रोमीका छोरा योगेश यसपालि उम्मेदवार बनेका छन् ।

तुलाचन ६२ र योगेश २९ वर्षका छन् । योगेश कांग्रेसबाट प्रतिनिधिसभा सदस्य चुनाव लड्ने कान्छा उम्मेदवार समेत छन् । रोमी र प्रेम मामा–फूपूका छोरा भएको बताइएको छ । थकाली संस्कारअनुसार उनीहरूबीच सोल्टीको साइनो छ । प्रेमलाई योगेशले भेना र प्रेमले योगेशलाई साला भनेर सम्बोधन गर्छन् ।

निर्माण व्यवसायी पृष्ठभूमिका तुलाचन जिल्ला विकास समितिको पूर्व सदस्य, थासाङ स्पोर्टस् क्लबका पूर्वअध्यक्षका साथै विभिन्न सामाजिक सङ्घसंस्थाको नेतृत्व गरेको अनुभव छ । भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका योगेश राजनीतिसँगै व्यापारमा संलग्न छन् ।

गत वैशाखको स्थानीय तह निर्वाचनमा मुस्ताङका पाँच स्थानीय तहमध्ये चार पालिकाको अध्यक्ष एमालेले जितेको छ भने एउटा पालिकाको अध्यक्ष र दुई उपाध्यक्ष कांग्रेसले जितेको छ । पालिका अध्यक्षको मतभार हेर्दा एमाले करिब चार सय मतले अगाडि छ भने उपाध्यक्षको मत हेर्दा करिब ५० मतले कांग्रेस अगाडि छ ।

विस २०७४ को चुनावमा जिल्लाको प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा सदस्यमा एमालेले जितेको थियो । तीन सिटका लागि १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनान्चालीस मतदान केन्द्र र १९ हजार नौ सय ५७ मतदाता छन् ।

राप्रपाका मानबहादुर विश्वकर्मा, राप्रपा नेपालका प्रवीणकुमार शेरचन, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शेरचन, सुरज लालचन र सुदेश शेरचनले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बनेका छन् ।

प्रदेशसभा क्षेत्र (१)मा एमालेका इन्द्रधारा विष्ट, कांग्रेसका नम्डु गुरुङ, (२) मा एमालेका चन्द्रमोहन गौचन, कांग्रेसका विकल शेरचन, राप्रपाका जेम्स हिराचन र राप्रपा नेपालकी कर्मडोल्कर गुरुङ उम्मेदवार छन् ।

यसअघि समानुपातिकबाट प्रदेशसभा सदस्य बनेका एमालेका नेता चन्द्रमोहन गौचन यसपालि प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न कांग्रेसले प्रदेशसभामा पनि ४० वर्ष मुनिका युवालाई चुनावी मैदानमा उतारेको छ ।

त्रिपन्न वर्षका एमालेका उम्मेदवार विष्टको प्रतिस्पर्धामा कांग्रेसले ३३ वर्षका गुरुङलाई उतारेको छ । एमालेका उम्मेदवार ५५ वर्षीय गौचनको प्रतिस्पर्धामा कांग्रेसबाट ३९ वर्षका शेरचन उत्रिएका छन् । कांग्रेसका उम्मेदवारलाई सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सर्मथन गरेका छन् ।

लामो समयदेखि राजनीतिमा क्रियाशील रहेको, विगतमा पनि चुनाव जितेको अनुभव, स्थानीय तहको मतपरिणाम र प्रभावशाली सङ्गठन जितको आधार भएको एमाले उम्मेदवार तुलाचनको भनाइ छ । कांग्रेसका उम्मेदवार गौचनले नयाँ र युवा उम्मेदवारप्रति मतदाताको आकर्षण, गठबन्धनमा आवद्ध दलको साथ र स्वतन्त्र मतदाता आफ्नो पक्षमा रहेकाले चुनाव जित्ने बताए ।

राजनीतिक दलहरूले सभाको विकल्पमा घरदैलो र मतदाता भेटघाट तथा कार्यकर्ता परिचालनलाई चुनाव प्रचारको माध्यम बनाएका छन् । उम्मेदवारले चीनको सिमानामा रहेको कोरलानाका सञ्चालन गर्ने र त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिएर भोट मागेका छन् ।

जोमसोम–कोरला सडक कालोपत्र गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदातासमक्ष प्रतिबद्धता गरेका छन् । कोरलानाका खुलाउन सकेमा मुस्ताङमात्र नभएर गण्डकी प्रदेशकै आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उम्मेदवारहरूको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !