५ जेष्ठ २०८१, शनिबार

महिलाको नेतृत्वमा विद्यालय


स्कुल

झिमरुक, २२ फागुन । समाजमा हरेक क्रियाकलापमा महिलालाई कमजोर मान्ने गरिन्छ । तर प्यूठानको ऐरावती गाउँपालिका–५ दामाचौरमा रहेको अमरज्योति प्राथमिक विद्यालय महिलाकै नेतृत्वमा सञ्चालनमा छ । विसं २०४६ चैत ५ गते स्थापना भएको विद्यालयमा २०७५ माघ महिनादेखि ललिता थापाले विद्यालयको प्राधानाध्यापकका रुपमा काम गर्दै आउनुभएको छ ।

त्यसयता विद्यालय महिलाकै नेतृत्वमा सञ्चालनमा रहेको हो । विद्यालयमा प्रार्थनाका लागि घण्टी बजाउने पनि महिला नै रहनुभएको छ । विद्यालयमा प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक, अन्य कर्मचारी र कार्यालय सहयोगी महिला आएपछि विद्यालयको शिक्षण सिकाइ प्रभावकारी बन्दै गएको छ ।

विद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धि, व्यवस्थापन, छात्रछात्रा र अभिभावकसँगको समन्वयले विद्यालय नमूना बन्न थालेको छ । प्रधानाध्यापक भएपछि कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व धेरै रहेको विद्यालयका प्रधानाध्यापक थापाले बताउनुभयो । विद्यालयलाई शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धमार्फत शिक्षण सिकाइ प्रभावकारी बनाउँदै लगेको उहाँको भनाइ छ । हाल विद्यालयमा प्रअसहित सात शिक्षिका छन् भने जसमा तीनजना दरबन्दीमार्फत, दुई निजी स्रोत, एक बालविकासका लागि र एक विद्यालय कर्मचारीसहित सबै महिला रहेका उहाँले बताउनुभयो ।

भौतिक संरचना अभाव

सो विद्यालयमा भौतिक संरचना जीर्ण अवस्थामा रहेका कारण सबैभन्दा पहिले भौतिक संरचना निमार्णको काम गर्नुपर्ने उहाँले बताउनुभयो । अहिले गाउँपालिकामार्फत रु १६ लाखको लागतमा दुईकोठे भवन निमार्ण हुन थालेको उहाँले जानकारी दिनुभयो । गाउँमा बालवालिकाको सङ्ख्या नै कम भएका कारण विद्यालयमा जम्मा ३८ विद्यार्थीले अध्ययन गरिरहेका उहाँको भनाइ छ । विद्यालयलाई बालमैत्री, नमूना विद्यालय बनाउने आफूहरुको प्रमुख लक्ष्य रहेको उहाँको भनाइ छ । विद्यालयमा हुने प्रार्थना, अतिरिक्त क्रियाकलाप, साहित्य जस्ता विविध क्रियाकलापको जिम्मेवारीअनुसार सबै शिक्षक साथीले काम गरेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिमा पनि महिला

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घमा महिला मात्रै रहेको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा माधवा जिसी रहनुभएको छ भने सदस्यहरुमा जानका साही, कल्पना थापा, मधु खड्का, सरिता थापा, विष्णा थापा, तारा नेपाली, अर्चना पौडेल र ललिता थापा हुनुहुन्छ । यसैगरी शिक्षक अभिभावक सङ्घको अध्यक्षमा निर्मला थापा रहनुभएको छ भने सदस्यमा अन्जिला थापा, माधवा जिसी, कमला नेपाली, तारा थापा, लक्ष्मी विक, खुमा नेपाली, कमला विक र ललिता थापा रहेका जनाइएको छ ।

माण्डवीमा ३३ प्रतिशत बजेट शिक्षामा

माण्डवी गाउँपालिकाले शिक्षा क्षेत्रमा नमूना काम गरेको छ । अघिल्लो वर्षदेखि शिक्षा क्षेत्रमा बजेटको स्तर समेत वृद्धि गरी शिक्षाको गुणस्तर बढाइएको हो । गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाको कूल बजेटमध्य ३३ प्रतिशत बजेट शिक्षामा विनियोजन गरेकोे छ । वित्तीय समानीकरणको रु एक करोड र वित्तीय समानीकरणतर्फ रु १० करोड गरी रु ११ करोड बजेट शिक्षामा विनियोजित भएको हो । शिक्षा क्षेत्रमा नमूना गाउँपालिका बनाउन विभिन्न शैक्षिक योजना बनाएर कार्यान्वयन गरिने गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो ।

विनियोजित बजेटबाट भवन निर्माणका काम, शिक्षक ,विद्यार्थी, अभिभावकलाई प्रोत्साहन भत्ता, गरिब विद्यार्थीलाई छात्रवृत्ति, बालविकास केन्दमा टिभी जडान, गरिब र जेहेन्दारलाई छात्रवृत्ति वितरण, सिसाकलम, कलमसमेत किन्न नसक्नेलाई स्टेशनरी बैंक सञ्चालन, माध्यमिक तहका प्रधानाध्यापकलाई तलबको पाँच प्रतिशत भत्ता दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताउनुभयो । त्यस्तै गाउँपालिकाले शिक्षा गुणस्तरीय बनाउनका लागि शिक्षक नभएका विद्यालयमा २५ शिक्षकलाई भर्ना गरेको उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !