६ जेष्ठ २०८१, आइतबार

कुसुन्डा भाषाको कक्षा सञ्चालन


Nepalpatra

२० पुस, नारायणपुर । भाषा आयोगले लोपोन्मुख भाषालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ दाङमा भाषा कक्षा सञ्चालन गरेको छ ।

नेपालमा बोलिने १२३ भाषामध्ये ३७ वटा भाषा संरक्षण गर्नुपर्ने अवस्थामा रहेको र तीन वटा भाषा लोपोन्मुख अवस्थामा रहेकाले भाषा कक्षा सञ्चालन गरेर नयाँ पुस्तालाई भाषा सिकाउने अभियानमा भाषा आयोग लागिपरेको छ ।

सङ्कटमा रहेका दुरा, तिलुङ र कुसुन्डा भाषा सङ्कटमा रहेको भन्दै भाषा जोगाउनकै लागि कक्षा सञ्चालन गर्न थालिएको भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले बताउनुभयो ।

लोपोन्मुख भाषालाई विद्यालयमा पाठ्यक्रमकैरुपमा राखेर लैजाने योजनामा भाषा आयोग रहेको जानकारी दिँदै अध्यक्ष अवस्थीले अन्य भाषाको प्रभावमा परेर आफ्नो मातृ भाषा नबिर्सन आग्रह गर्नुभयो ।

लमहीमा शुरु भएको कुसुन्डा भाषा कक्षा सञ्चालन शुभारम्भ कार्यक्रममा भाषा आयोगका अध्यक्ष अवस्थीले कुसुन्डा भाषा जीवित राख्न स्थानीय सरकारले महत्वपूर्ण भूमिका रहने बताउनुभयो । कुसुन्डा भाषा कक्षा लिनका लागि दाङसहित प्यूठान र सुर्खेतबाट सहभागी भएका छन् । भाषा आयोगले विज्ञको सहयोगमा कुसुण्डा भाषा कक्षा सञ्चालनका लागि पाठ्यक्रम तयार पारिसकेको छ ।

चार चरणमा विभाजन गरी साक्षरता कक्षा हुँदै कुसुन्डा भाषा विशेषज्ञ बनाउने उद्देश्यका साथ तयार पारिएको कुसुन्डा भाषाका अभियानकर्मी तथा कुसुन्डा भाषा शिक्षक उदयराज आलेले जानकारी दिनुभयो । तीन÷तीन महीनामा विभाजन गरिएको पाठ्यक्रम एक वर्ष कोर्ष पूरा गरेपछि कुसुन्डा विशेषज्ञका रुपमा तयार पार्ने आलेले बताउनुभयो ।

पूर्णवक्तालाई सम्मान र पुरस्कार

नेपालमै कुसुन्डा भाषाका पूर्णवक्ताका रुपमा रहनुभएका दाङ लमही कूलमोड निवासी ज्ञानीमायाँ कुसुण्डा र रोल्पा निवासी कमला सेन कुसुन्डालाई सम्मान गरिएको छ ।

भाषा बचाउनका लागि दुई जना पूर्णवक्ताको ठूलो भूमिका रहेको भन्दै उहाँलाई सम्मान गरिएको हो । उहाँहरु लाई मासिक रु तीन हजारका साउनदेखि पुस महीनासम्मको रु १८ हजारसमेत हस्तान्तरण गरिएको छ । उहाँहरुलाई भाषा आयोगबाट मासिक रु तीन हजार ‘भाषिक वृत्ति’ पुरस्कारस्वरुप उपलब्ध गराइने भाषा आयोगले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !