७ बैशाख २०८१, शुक्रबार

पनौतीमा प्रादेशिक गुरुकुल स्थापनार्थ पहल


प्रादेशिक गुरुकुल

काभ्रेपलाञ्चोक । पनौतीमा प्रदेशस्तरको गुरुकुल स्थापनार्थ स्थानीयले पहल थालेका छन् । गुरुकुल शिक्षाप्रति चासो राखेका उनीहरुले काभ्रेपलाञ्चोकको पनौतीमा प्रदेशस्तरको गुरुकुललाई संस्थागत गर्न भेलाको आयोजना गरी निर्णयसमेत गरेका छन् ।

पनौतीस्थित त्रिवेणीघाट सत्तलमा १६ वटुक अध्यापन गरिरहेका गरुकुललाई संस्थागत गरी निर्णयसहित प्रक्रिया अघि बढाउन थालिएको स्थानीय युवा पण्डित अच्युत भट्टराईले जानकारी दिए । उनले गुरुकुललाई प्रदेशस्तरमा विकास गर्न सबै पक्षको सहयोग लिई अघि बढ्ने योजना बनाइएको बताए ।

गुरुकुलमा अध्ययनरत वटुकलाई कर्मकाण्ड र धर्म मात्रै नभई आधुनिक शिक्षाको ज्ञान–सीप प्रदान गरिने जनाइएको छ । यस्तै सो गुरुकुलबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने गरी शिक्षालाई व्यवस्थित गर्न सोही अनुसारको शिक्षा पहिचान गरिएको पण्डित भट्टराईले बताए ।

उनले भने, “पछिल्लो समय गुरुकुल शिक्षाप्रति आकर्षण बढ्न थालेकाले स्थानीयको पहलमा पनौतीमा प्रदेशस्तरको गुरुकुल स्थापना गर्ने निर्णय गरेका हौँ ।”

ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल पनौतीलाई सनातन वैदिक धर्म र हिन्दू संस्कारलाई जगेर्ना गरी पुण्य भूमिका रुपमा नगरलाई पहिचान दिलाउने उद्देश्यले गुरुकुल स्थापना गर्न लागिएको स्थानीय व्यवसायी प्रदीप बोगटीले बताए । “गरुकुल स्थापनार्थ सबै प्रकारको सहयोग गर्न तत्पर छौँ”, उनले भने ।

यस्तै नेपाली कांग्रेसका नेता तीर्थ पसखलले परम्परा, संस्कृतिको संरक्षण गर्न, धार्मिक जागरण ल्याउन सबैको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । स्थानीयले गुरुकुल स्थापनार्थ स्थानीय तथा प्रदेशस्तरका जनप्रतिनिधिको साथ-सहयोग लिन सुझाव दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !