१२ बैशाख २०८१, बुधबार

सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्री प्रदर्शनी गरेर पठनपाठन


शैक्षिक सामग्री प्रदर्शनी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चार वटा वडाका सामुदायिक विद्यालयले कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरेर अध्यापन गराउन थालेका छन् । शैक्षिक सामग्रीले झकिझकाउ कक्षा कोठामा नाच्दै गाउँदै पठनपाठन गराउन थालिएको हो । यसअघि अन्नपूर्ण गाउँपालिकाका सबै र रघुगङ्गा गाउँपालिका–५, ६, ७ र ९ का विद्यालयले शैक्षिक सामग्रीको प्रदर्शनी गरेर पठनपाठन गराउने विधि अपनाएका थिए ।

बालबालिकाको सिकाइ उपलब्धि बढाउन प्रभावकारी देखिएपछि रघुगङ्गाको १ देखि ४ नम्बर वडामा पर्ने क्रमश ः बेग, भगवती, पिप्ले र दग्नामका १६ वटा विद्यालयमा लागू गरिएको गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो । “बालबालिकाको पढाइप्रति रुचि र सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्रीका साथै गीत, सङ्गीत र नृत्यको समेत साहरा लिएका छन्”, उहाँले भन्नुभयो, “शैक्षिक सामग्रीले झकिझकाउ कक्षा कोठामा नाच्दै गाउँदै पढाउने गरिएको छ ।”

वातावरण रमाइलो बनाएर बालबालिकाको सिकाइलाई सुधार गर्न कक्षा कोठाका भित्ता, झ्यालदेखिबीच भागमा डोरी तानेर कागजमा विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्याङ्क, वाक्य लेखेर झुण्ड्याइएका छन् । मौवाफाँटको ज्ञानोदय माविका शिक्षक उर्मिला रेग्मीले शैक्षिक सामग्रीको प्रदर्शनी गरेर पढाउन थालिएपछि बालबालिकाले पढाएको छिटो बुझ्नुका साथै विर्सने समस्या हटेको बताउनुभयो ।

शिक्षक र विद्यार्थी मिलेर कक्षा कोठामा पाठको सन्देश अनुसारका सहयोगी शैक्षिक सामग्री तयार गरेर प्रदर्शन गरेका छन् । शिक्षक, विद्यार्थीमा सिर्जनशीलताको विकास भएको छ । पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई गीत, नृत्य र खेलकूदको माध्यमबाट पढाउने गरिएको कालिका माध्यमिक विद्यालय तिप्ल्याङका शिक्षक हरिप्रसाद सुवेदीले बताउनुभयो ।

“शैक्षिक सामग्रीको प्रदर्शनी गरेर पढाउँदा विद्यार्थीले सिकेका कुरा चिरस्थायी र दिगो भएको छ”, उहाँले भन्नुभयो, “पाठ्यक्रमले निर्धारण गरेका शैक्षिक उपलब्धि पूरा गर्न सहज भएको छ ।” गीत, सङ्गीत र खेल खेलाएर पढाउँदा साना बालबालिका पढाइप्रति उत्साहित हुने गरेका छन् ।

शिक्षण सामग्री प्रदर्शनी र प्रयोगपछि विद्यार्थीको सिकाइमा सुधार गर्न सहयोगी बन्ने जनता मावी दग्नामका प्रअ गुन पुनले बताउनुभयो । “शिक्षक, शिक्षिका र विद्यार्थीसँगै नाचगान र खेलेर पठनपाठन गराउँदा वातावरण रमाइलो हुनेगर्छ”, उहाँले भन्नुभयो, “विद्यार्थीले नबुझेको र बिर्सिएको कुनै विषयमा कक्षा कोठामा प्रदर्शन गरिएको सामग्रीबाटै सिक्ने अवसर पाएका छन् ।”

रघुगङ्गा गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लियाको सहयोगमा शिक्षकलाई शैक्षिक सामग्री निर्माण र प्रयोगसम्बन्धी तालिम दिएको सम्वृद्ध ग्रामीण नेपालको लागि शैक्षिक उन्नयन (लर्न) संस्थाले शैक्षिक र खेलकूद सामग्रीसमेत उपलब्ध गराएको छ । गत असोजमा रघुगङ्गाको बेग, भगवती, पिप्ले र दग्नामका १६ वटा विद्यालयका १३५ शिक्षकलाई आधारभूत कक्षाकोठा व्यवस्थापन तालिम दिएको लर्नका कार्यक्रम व्यवस्थापक मीन शाहीले गत हप्ता झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गलेका ८७ शिक्षकलाई विषयगत तालिम दिइएको जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकामा विगत ८ वर्षदेखि सञ्चालित शैक्षिक उन्नयन कार्यक्रम रघुगङ्गा गाउँपालिकाको अमर मावि पाखापानी स्रोत केन्द्रमा विसं २०७६ देखि सुरु भएको थियो । कार्यक्रमका लागि रघुगङ्गा गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्ट्रेलियाले ५०÷५० प्रतिशत लागत साझेदारी गरेका छन् । चालू आर्थिक वर्षमा रघुगङ्गा गाउँपालिकाले यस कार्यक्रमका लागि रु पन्ध्र लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !