भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल आज सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले ४ लाख ८४ हजार २७८ विद्यार्थीेको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।
नतिजा सार्वजानिक गर्दै परीक्षा नियन्त्रक अधिकारीले भने, “यस वर्ष बोर्डले कति विद्यार्थीले कुन जिपिए ल्याए भने छुट्याएनौँ, जिल्लाबाट प्रमाणीकरण भएर आएको मूल्याङ्कनको नतिजालाई नै बोर्डले प्रमाणीकरण गरेको छ ।”
विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्कन सङ्कलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । कोरोना भाइरस संक्रमण बढेपछि नियमित एसईई परीक्षा नभएपछि यस वर्ष विद्यार्थीको भौतिकरुपमा परीक्षा सञ्चालन नगरी विद्यालयको आन्तरिक मूल्याङ्नका आधारमा एसईईको नतिजा सार्वजनिक गरेको हो ।
नतिजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि कति विद्यार्थीले कुन जिपए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । परीक्षा बोर्डले नतिजा सार्वजनिक हुने अनलाइन माध्ययमको बारेमा जानकारी सार्वजनिक गरेको हो । बोर्डका अनुसार नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआर मार्फत हेर्न सकिनेछ ।
नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनःपरीक्षण गराउने र पूरक ग्रेडवृद्धि परीक्षा सञ्चालनसम्बन्धी भने नहुने भएको छ । बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिनभित्र जिल्लास्थित शिक्षा तथा समन्वय इकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।
यसरी हेर्नुहोस् एसईईको नतिजा
एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ ।
नतिजा बोर्डको वेबसाइट, एसएमएस र आइभीआरमार्फत प्राप्त गर्न सकिनेछ । बोर्डले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा नेपाल टेलिकमको १६००, एनसेलको १६००, अन्य विभिन्न कम्पनीको ३४९४९, ३१००३, ३५००१ मा एसएमएस गरेर हेर्न सकिने व्यवस्था गरेको छ ।
यस अलावा विद्यार्थीले भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, एनसेलको वेबसाइट, इडीयू सञ्जाल डटकम, नेपाल टेलिभिजन , द कन्सेपट प्लस, एडुसञ्जाल र ईकान्तिपुरमार्फत पनि नतिजा हेर्न सकिने उल्लेख गरिएको छ ।