४ बैशाख २०८१, मंगलबार

आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन हुने


एसइई परीक्षा

कञ्चनपुर । कञ्चनपुरका सामुदायिक र संस्थागत विद्यालयमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिने भएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर तीव्ररूपमा फैलिरहेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएपछि आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न लागिएको हो । आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयले नतिजा तयार गर्ने कार्य अगाडि बढाएका छन ।

जिल्लाका नौ वटै स्थानीय तहमा रहेका विद्यालय आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारीमा जुटेका हुन् । “आधारभूत तहको कक्षा १ देखि ३ मा उदार कक्षा उन्नतिको आधारमा नतिजा प्रकाशनको तयारी गरिएको छ”, शुक्लाफाँटा शिक्षा शाखाका प्रमुख टिकेन्द्रप्रसाद भट्टले भन्नुभयो, “कक्षा ४ देखि ५ मा शैक्षिक सत्र २०७७ मा लिइएको पहिलो र दोस्रो त्रैमासिक परीक्षाका आधारमा ५० प्रतिशत र निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा ५० प्रतिशतलाई आधार बनाई नतिजा प्रकाशन गरिने छ ।”

उहाँका अनुसार कक्षा ६ देखि ७ मा शैक्षिक सत्र २०७७ मा लिइएको पहिलो र दोस्रो त्रैमासिक परीक्षाका आधारमा ६० प्रतिशत र निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा ४० प्रतिशतका आधारमा नतिजा तयार गरिने छ ।

कक्षा ८ मा शैक्षिक सत्र २०७७ मा विद्यालयले सञ्चालन गरेको पहिलो र दोस्रो त्रैमासिक परीक्षाको सैद्धान्तिकतर्फ ८० प्रतिशत मूल्याङ्कन र विषय शिक्षकको २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा तयार गरिने छ ।
कक्षा ८ को प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क सम्बन्धित विद्यालयको एक्सल वेस्ट एचिभमेन्ट फाइलमा प्रविष्ट गरी २०७८ जेठ मसान्तसम्म अपलोड गर्नका लागि सम्बन्धित शिक्षा शाखाका प्रमुखले विद्यालयलाई जानकारी गराएका छन् ।

कक्षा ९ को परीक्षाको सैद्धान्तिकतर्फ ८० प्रतिशत मूल्याङ्कन र विषयगत शिक्षकको २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा जेठ मसान्तसम्म नतिजा प्रकाशन गर्ने समय सीमा निर्धारण गरिएको छ । आन्तरिक मूल्याङ्कन विद्यार्थीको अनुशासन, उपस्थिति र सिर्जनात्मक कार्यलाई आधार बनाइने छ ।

आन्तरिक मूल्याङ्कन र नतिजा प्रकाशनका लागि सम्बन्धित विद्यालयको प्रधानाध्यापकको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा विद्यालयमा कार्यरत एक जना वरिष्ठ शिक्षक र एक जना कक्षा शिक्षक सदस्य रहेका छन् ।

विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्न नसकिने भएकाले आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयले नतिजा प्रकाशन गर्न लागेकोे भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले बताउनुभयो । “विद्यार्थीको आन्तरिक मूल्याङ्कनका विधि र प्रक्रियाहरु स्पष्ट छन । सोहीअनुसार विद्यालयलाई नतिजा सार्वजनिक गर्न भनिएको छ”, उहाँले भन्नुभयो, “नतिजा प्रकाशन पनि अनलाइनबाट हुन्छ ।” बाँकी सबै प्रक्रिया गत वर्ष जस्तै हुने उहाँले बताउनुभयो ।

कक्षा १ देखि ७ र कक्षा ९ को नतिजा सम्बन्धित विद्यालयले प्रकाशित गर्ने छन् भने कक्षा ८ को नतिजा नगरपालिकाले प्रमाणित गरेपछि मात्र प्रकाशन हुनेछ । गत वर्षसमेत कोरोना महामारीकै कारण आन्तरिक मूल्याङ्कन गरी नतिजा प्रकाशित गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !