काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा प्रा. ड़ा. भोला थापालाई नियुक्त गरेको छ । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई उपकुलपतिमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
थापा काठमाडौं विश्वविद्यालयका पूर्व रजिष्ट्रार समेत हुन् । केयूको ८८ औं सिनेट बैठकले उपकूलपति छान्न सहकूलपति तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा छनोट समिति गठन गरेको थियो । उक्त समितिमा केयूको बोर्ड अफ ट्रष्टी प्रमुख दमननाथ ढुंगाना र केयूका पूर्व उपकूलपति सुरेशराज शर्मा सदस्य थिए ।
छनोट समितिले केयूको उपकुलपतिका लागि वर्तमान उपकुलपति प्रा. डा. रामकण्ठ माकाजु, प्रा. डा. भोला थापा र शिक्षा संकायका प्राध्यापक बालचन्द्र लुइँटेल ३ जनालाई सिफारिस गरेकोमध्येबाट थापालाई उपकुलपति नियुक्त गरिएको हो ।
केयूको उपकुलपति बन्न ४४ जनाले आफ्नो व्यक्तिगत विवरण शिक्षामन्त्री श्रेष्ठ समक्ष पेश गरेकोमा ४४ जनाबाट ३ जनाको नाम केयूका कूलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पेश गरेका थिए ।
सबैभन्दा बलियो सम्भावना बोकेका मकाजुलाई पन्छाउँदै सरकारले भोला थापालाई उपकूलपतिमा नियुक्ति गरेको हो । दुई वर्ष कार्यकाल पूरा गरेर उपकुलपति माकाजु यही फागुन १० गते बिदा हुँदैछन् । थापा प्रजातन्त्रिक विचारधाराका प्राध्यापकका रुपमा स्थापित छन् ।
काठमाडौं विश्वविद्यालय स्थापना भएदेखि सो विश्वविद्यालयमा प्रध्यापन पेशा गर्दै आएका प्रा.डा. थापाले सो विश्वविद्यालयमा २७ वर्ष काम गरेका हुन् । नवनियुक्त थापा ९ वर्ष डीन र ५ वर्ष रजिष्ट्रार भएका थिए ।
पेशामा मेकानिकल इन्जिनियर उपकुलपति प्रा. डा. थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधी गरेका छन् । उपकुलपति नियुक्ति भएपछि थापा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठलाई भेट गर्न मन्त्रालयले पुगेका थिए ।