७ बैशाख २०८१, शुक्रबार

न्यून आय भएका र दैनिक ज्यालादारी गर्नेलाई राहत देऊ सरकार


न्यून आय भएका र दैनिक ज्यालादारी गर्नेलाई राहत देऊ सरकार

१३ चैत, काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि वर्तमान समयमा देखाएको गम्भीर चासो र लिएका कदमहरू स्वागतयोग्य नै छन् । तर नेपाल सरकारले लकडाउन घोषणा गरेपछि दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका श्रमिकहरू र न्यून आय भएका नेपालीहरु अप्ठेरोमा परेका छन् । लकडाउनले आम्दानीको बाटो बन्द भएपछि वीरगन्जमा १५० रिक्सा चालक भोकभोकै रात कटाएका खबर आएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज बिहिबार सामाजिक संजाल टि्वटरमा टि्वट गर्दै न्यून आय भएकालाई राहत घोषणा गर्न सरकारसगँ आग्रह गरेका छन् । साथै सरकारसँग देशका प्रवुद्ध व्यक्तिहरु पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ, सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमा, दुर्गा सुवेदी साथै साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र लगायतले आज विहीबार संयुक्त विज्ञप्ति निकालेर न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेका हुन् ।

देशका प्रवुद्ध व्यक्तिहरु, नागरिक समाजका अगुवाहरु, समाजसेवीहरु, पत्रकारहरु, विभिन्न उद्योगपतिहरु तथा ब्यापारीहरु, असल नागरिकहरु सवैले यो कोरोना भाइरस (कोभिड-१९) संक्रमणमा बच्न आफ्नो ठाउँवाट सकेको योगदान गर्न जरुरी छ । साथै यस्तो विषम परिस्थितिमा आफ्नो धैरता नगुमाई आफ्नो, आफ्नो परिवार, आफ्नो समाज र आफ्नो देश नेपाललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट जोगाउन सरसफाईमा ध्यान दिदै सामाजिक दुरी कायम गरेर आफु सुरक्षित भई सवै नागरिकले सरकारले चलेको सहि कदमको अक्षरस पालना गरी असल नागरिकको परिचय दिनु आजको आवश्यकता हो ।

नेपालमा हाल कोरोना भाइरस (कोभिड-१९) वाट संक्रमित २ जना बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आइसोलेसनमा छन् । व्यक्ति, परिवार, समाज र राष्ट्रलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन लक डाउन पालना गर्नु, स्वयम क्वारेन्टिनमा बस्नु र शंका लागेको अवस्थामा स्वास्थ्य जाँच गराउनु नागरिकको कर्तव्य हुने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताएका छन् । त्यसैले सरकारको निर्देशन पालना गर्नु, घरघरमा स्वयम् क्वारेन्टिनमा बस्नु र जनचेतना अभिवृद्धिमा सक्दो सहयोग गर्नु प्रत्येक नागरिकको कर्तव्य हो । साबुन पानीले बारम्बार हात धोऔँ, मास्क लगाएर बसौँ, आपसमा सामाजिक दूरी कायम गरेर बसौँ ।

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसवाट मृत्यु हुने र संक्रमण हुनेको संख्या दिन-प्रतिदिन बढिरहेको छ । भारत सरकारले प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत भारतका ८० करोड बासिन्दालाई आगामी ३ महिनासम्म नि:शुल्क चामल, गहुँ र दाल दिने भएको छ। त्यस्तै, भारत सरकारले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता २००० रुपैयाँ दिने घोषणा पनि गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लकडाउनलाई जनताले पूर्ण रुपमा पालना नगरे ठूलो जोखिम हुने भन्दै १ साताको लकडाउनले नपुग्ने भएकाले २१ दिनसम्मको लकडाउन लम्बिन सक्ने बताएका छन् । साथै आज मात्र परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले लकडाउन २ हप्ता थपेर ३ हप्ता वा २१ दिन हुनसक्ने पनि बताएका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण दर वृद्धि भई रहेको छ । नेपाल सरकारका मन्त्रीहरुले पनि लकडाउन लम्बिन सक्ने बताएका छन् । यदि कोरोनाबाट सुरक्षित हुँदाहुँदै लकडाउन लम्बियो भने दैनिक ज्यालादारी गर्ने र न्यून आय भएका नेपालीहरुको रोजीरोटी बन्द हुने स्थिति आएर भोकमरीको सिकार हुने प्रवल सम्भावना दिनप्रतिदिन बढिरहेको देखिन्छ ।

नेपाल सरकार दूरदर्शी भएर यस्ता समूहलाई भोकमारीको सिकार हुन नदिन सरकारले तत्काल विशेष राहत प्याकेज घोषणा गर्न जरुरी देखिन्छ । तसर्थ, नेपाल सरकारले तुरून्तै विशेष प्याकेज घोषणा गरी निःशुल्क रासन, नि:शुल्क उपचार आदिको सेवा-सुबिधा दिई कार्यान्वयन गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई गम्भीर ध्यानाकर्षण गर्दै नेपालपत्र डटकम सवै सरकारहरुलाई बिनम्र अनुरोध पनि गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !