२२ भाद्र २०८१, शनिबार

सांस्कृतिक सम्पदाकाे पुनर्निर्माणमा नमुना बन्याे भक्तपुर


Editorial

नेपालपत्र, १६ वैशाख २०७५ । तीन वर्ष अगाडि अर्थात २०७२ साल वैशाख १२ गते गएकाे भूकम्पले देशका धेरै ऐतिहासिक सांस्कृतिक सम्पदामा ठुलाे क्षति पुर्याएकाे थियाे । त्यसमा पनि सबैभन्दा धेरै क्षति राजधानीका सम्पदाकाे भएकाे थियाे । विशेषगरी भूकम्पकाे क्षतिपछि भक्तपुर र काठमाण्डाैमा सरकारले पुरातत्व विभागकाे मापदण्ड अनुसार पुनर्निर्माण गर्ने बताएकाे छ र त्यसै अनुरूप काम सुरू गरेकाे छ । तर काम भने कछुवाकाे गतिमा मात्र अगाडि बढेकाे देख्न सकिन्छ ।

याे ३ वर्षकाे अवधिमा भएकाे प्रगति हेर्ने हाे भने केही पनि उपलब्धी नभएकाे भन्न सकिन्न । भक्तपुरमा रहेका खौमा गेट, शंकर नारायण, नारायण मन्दिर, दिमाजु मन्दिर, बद्रीनारायण मन्दिर, रामेश्वर मन्दिर, किलेश्वर मन्दिर, चाँगुनारायण मन्दिर, चाँगुनारायण मन्दिर पुनर्निर्माणको काम सकिएको छ । त्यस्तै दक्षिण बाराही मन्दिर, मध्यपुरथिमिको महालक्ष्मी मन्दिर, गणेश मन्दिर, भक्तपुरको गोल्मढी गणेश, तलेजु सैनिक आवास गृह, यन्त्र वत्सला मन्दिर, जगन्नाथ मन्दिरको पुनर्निर्माण एवं जिर्णोद्वार भैसकेका छन् ।

सूर्यविनायक गणेशको आमाको मन्दिर, महामञ्जुश्रीको क्षेत्र संरक्षण, महालक्ष्मी द्याछें, मध्यपुरथिमिको चोडे पाटीको जिर्णोद्धार सम्पन्न भईसकेको छ । विभागले ३४ सम्पदा पुनर्निर्माणको प्रस्ताव अघि बढाएको छ ।
चाँगुनारायण परिसरको चौघेरा सत्तल, छिन्नमस्ता मन्दिर, बलम्बुपाटी, भीमसेन पाटी विभागले नै पुनर्निर्माण गर्दैछ ।

यसै वर्ष नौवटा सम्पदाको पुनर्निर्माण एवं जिर्णोद्धारको काम सक्ने तयारी छ । दरबार स्क्वायरभित्र भक्तपुर नगरपालिका र स्मारण संरक्षण कार्यालय दुबै निकायको संयुक्त रुपमा संम्पदा संरक्षणको काम भैरहेको छ ।

भक्तपुर नगरभित्रका नौ सम्पदा पुनर्निर्माणको काम गर्दै आएको भक्तपुर नगरपालिकाले क्षतिग्रस्त सम्पदामध्ये भक्तपुर दरबार स्क्वायर परिसरकै पचपन्न झ्याले दरबार दक्षिणतर्फको शेषनारायण (शंकर), दरबार प्रवेशद्वार, दरबार स्क्वायर परिसरकै पशुपति मन्दिरको दक्षिणतर्फको त्रिविक्रम नारायण मन्दिर, सिलु महादेवको पूर्वतर्फको हरिहर नारायण मन्दिर, दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडिको लक्ष्मीनारायण मन्दिर, सिद्धपोखरीको पर्खालको पुनर्निर्माण सम्पन्न गरिसकेको छ । भक्तपुरकै इनाचो र क्वाछेंमा रहेको दुई नित्यनाथ मन्दिरको पुनर्निर्माण सम्पन्न भएका छन् । नगरपालिकाले दरबार परिसरको बत्सला मन्दिर, र केदारनाथको मन्दिरको पुनर्निर्माणको काम आधा भन्दा बढी सम्पन्न गरेको छ ।

नेपाली सालको काठ, कलात्मक इँटा, नेपाली ढुंगा सहज हुने हो भने भक्तपुरमा पुनर्निर्माण हुन बाँकी रहेका सम्पदा पनि छिट्टै सकिनेछन् । अभाव र समस्या बिचमा पनि भक्तपुरमा अहिले भैरहेको सम्पदा पुनर्निर्माणको काम नमूनाकै रुपमा अगाडि बढेको छ । यस नमुनाबाट अन्य क्षेत्रले पनि पाठ सिकेर भत्किएका सांस्कृतिक र धार्मिक सम्पदाकाे पुनर्निर्माणमा लाग्न सकेमा भूकम्प अगाडिकाे अवस्थामा देशका सम्पदा पुनर्स्थापित गर्न लामाे समय लाग्ने छैन । यस तर्फ सबै पक्षले साेच्ने बेलाभइसकेकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !