६ जेष्ठ २०८१, आइतबार

तालीम र गोष्ठीको बजेट कोरोना कोषमा


money-return

घोराही, २७ वैशाख । कोरोना संक्रमणका कारण लामो समयदेखिको बन्दाबन्दीले जनतालाई राहत वितरण गर्नुपर्ने भएपछि दाङका स्थानीय तहले राहत कोष बढाएका छन् । पालिकाले चालु आर्थिक वर्षमा छुट्याएको लक्षित वर्ग, विभिन्न सचेतनाका कार्यक्रम, तालीम, गोष्ठी, सेमिना र सीपमूलक कार्यक्रमका बजेट कोरोना राहत कोषमा रकमान्तर गरेका छन् । गत चैत दोस्रो सातादेखि शुरु भएको राहत वितरण यही वैशाखको अन्तिम सातासम्म चलिरहेको छ ।

भारतसँग सीमा जोडिएको गडवा गाउँपालिकाले बन्दाबन्दीपछि पालिकाभित्र बसोवास गर्ने करीब तीन हजार घरधुरीलाई राहत वितरण गरेको छ । पालिकाका अध्यक्ष सहजराम यादवका अनुसार राहतका लागि पालिकासँग छुट्टै पैसा नभएपछि सामाजिक सचेतना र लक्षित वर्गको बजेट कोरोना कोषमा जम्मा गरेर राहत वितरणमा खर्च गरिएको छ ।

बबई गाउँपालिकाका प्रमुख भुुवनेश्वर पौडेलले पालिकाले पहिलो चरणमा माग आएका सबै विपन्न परिवारलाई राहत वितरण गरेको बताउनुभयो । वडामा गठन गरिएका विपद्् व्यवस्थापन समितिका सिफारिसमा राहत वितरण गरिएको जनाइएको छ ।

तुलसीपुर उपमहानगरका प्रवक्ता श्याम डाँगीले चालु आवमा गर्ने भनिएको तालीम, गोष्ठी र सेमिनारमा खर्च हुने बजेट विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको जानकारी दिनुभयो । कर्मचारीका तलब केही प्रतिशत काटिएको र देशविदेशबाट समेत सहयोग आएको छ । सोही कारण उपमहानगरले अन्य पालिकाभन्दा धेरै जनतालाई राहत वितरण गरेको उहाँको भनाइ छ ।

पालिकाहरुले अहिलेसम्म करीब २० हजार विपन्न परिवारलाई राहत वितरण गरिसकेका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार दाङमा करीब एक लाख २० हजार घरपरिवारको बसोबास छ । त्यसमध्ये आर्थिक अवस्था नाजुक भएकालाई राहत वितरण गरिएको विपद् व्यवस्थापन एवं एकद्वार संकट व्यवस्थापन प्रणालीका प्रमुख विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !